शुक्रबार, जेठ ४, २०८१

स्थापित भन्छन्- चुनाव जिते एक दिन सगुन खाने, भोलिपल्टबाट काम गर्ने

नेपालखोज २०७९ वैशाख १८ गते १६:१०

काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छान् ।

स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकैदिनमा सो काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताए । । आज अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सगुन खाँदा पनि झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गरे ।

उनले पानी ल्याउने, विष्कुट ल्याउने अनि बाँडेर सगुन खाने र मेयर भएको पर्सीपल्टबाट काम सुरु गर्ने बताए । उनले आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गरे । काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा आफूले विकास गर्न चाहेको मेयरका उम्मेदवार स्थापितको भनाई छ ।

कार्यक्रममा बोल्दै एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । उनले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई विदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने योजना पनि सुनाइन् । डंगोलले महिलाहरुलाई पुरुष सरह ज्याला पाउने प्रबन्ध पनि आफू विजयी भएमा व्यवस्था गर्ने संकल्प गरिन् ।

प्रतिक्रिया