बुधबार, असोज २, २०८१

सिंहलाई आईजीपी बनाएर सरकारले विधिको शासनको खिल्ली उडायो : कोइराला

नेपालखोज २०७९ वैशाख १८ गते १५:५८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा वरीयता र प्रक्रिया मिचिनुले विधिको शासनको खिल्ली उडाएको बताएका छन् । सामाजिक सन्जालमार्फत उनले प्रहरी संगठनलाई सरकारले फेरि विवादमा ल्याउने काम गरेको आरोप लगाए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा सिंहलाई नियुक्त गरेपछि कोइरालाले विरोध जनाएका हुन् । तेस्रो वरीयताका एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णयप्रति आपत्ति जनाउँदै कोइरालाले प्रहरी संगठनलाई फेरि विवादमा ल्याउने काम भएको उल्लेख गरेका हुन् । उनले भने, ‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ ।’

मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरका विश्वराज पोखरेललाई पन्छाएर सिंहलाई आईजीपी बनाएको हो । गृह मन्त्रालयले समेत पोखरेललाई नै बढुवा गर्न सिफारिस गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवा सिंहलाई आईजीपी नबनाई ब्याक नहुने मुडमा पुगेपछि पोखरेलको नाम मन्त्रिपरिषद्बाट स्वीकृत भएन् । बरु तेस्रो नम्बरका सिंहलाई आईजीपी बनाउन प्रधानमन्त्री स्वयंले लबिङ गरे । उनले आईजीपी सिंहलाई नै बनाउने अडान लिएँ र मन्त्रिपरिषद्बाट नाम अनुमोदन गराए ।

प्रतिक्रिया