शुक्रबार, जेठ ४, २०८१

आयोगलाई पुनको प्रश्न- निर्वाचन आयुक्त र ओलीको अभिव्यक्ति कसरी मिल्यो ?

नेपालखोज २०७९ वैशाख १८ गते १७:०४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आज १३३औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका छन् ।

प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्ने उनले प्रश्न गरे । कुनै नेता विशेष र पार्टी विशेषको बोलि निर्वाचन आयोगले बोल्न नमिल्ने उनले बताए ।

नेता पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भुमिका निर्वाह गर्न पनि आग्रह गरे । उनले निर्वाचन आयोग रेफ्रिको भुमिकामा बस्नुपर्ने पनि बताए । उनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भुमिका खेल्न नसकेको पनि बताए ।

नेता पुनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धीको रक्षापछि गठबन्धनका दलहरु आपसमा प्रतिस्पर्धा गर्ने बताए । उनले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप पनि लगाए ।

नेता पुनले एमालेले धार्मिक एजेण्डा बोकेर हिडेको आरोप लगाए । एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिड्नुपर्ने अवस्था आएको उनले बताए । ओलीले बाहिर बाहिर हुंकार गरेको भएपनि भित्रैबाट गलीसकेको र पराजित भइसकेको उनले बताए । ओली पराजित हुनु वामपन्थीहरुको एकताको ग्यारेन्टी भएको उनले बताए ।

उनले माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमालेभित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तमाथि नभएको स्पष्ट पारे । भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरुको वैचारिकरुपमा ध्रविकरण हुने पनि उनले बताए ।

प्रतिक्रिया