शुक्रबार, असोज ४, २०८१

‘परिपक्वता, कार्यकुशलता र कार्यक्षमताले महानिरीक्षकमा सिंह’

नेपालखोज २०७९ वैशाख १९ गते १३:१३

काठमाडौं । गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् ।

सचिव पाण्डेले गृह मन्त्रालयमा सोमबार नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भएपनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको बताए । एआईजीहरुमध्ये सिंहमा कार्यकुशलता देखेर नै निर्णय गरेको उनको भनाइ छ । सबै एआईजीहरु २०४९ साल चैत्र १२ गतेको नियुक्ति भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको सचिव पाण्डेले स्पष्ट पारे ।

सचिव पाण्डेले भने, ‘प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए । हाम्रो प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाले ज्येष्ठता भन्छ । ज्येष्ठता भनेपछि सबै २०४९ साल चैत्र १२ गतेको नियुक्तिको मान्छेहरु नै अहिले महानिरीक्षक हुन उपयुक्त हो । सबै त्यही हुनुहुन्छ ४ जना नै । नियमावलीले कार्यकुशलता र कार्यक्षमता भनेको छ । सरकारलाई भएका एआईजीहरुमा नवनियुक्त महानिरीक्षकज्यू एआईजीबाट बढुवा हुनुभयो । उहाँको कार्य कुशलता र कार्य क्षमता सरकारलाई राम्रो लाग्यो ।’

सचिव पाण्डेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अहिलेको जनशक्तिले आवश्यकतालाई धान्न नसक्ने बताए । उनले अहिलेको आवश्यक्ता धान्न एक लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यकता रहेको बताए ।

उनले भने, ‘नेपाल प्रहरीको ७९ हजारको जनशक्ति र सशस्त्र प्रहरी बल नेपालको ३७ हजार हाराहारीको जनशक्तिले अहिलेको बदलिँदो समाजको आवश्यक्ता र मागलाई धान्न सकिरहेको अवस्था छैन । मेरो आँकलनमा अहिलेको माग र प्रहरी चौकीको स्तरोन्नती, ईलाका प्रहरी कार्यालयको स्थापना अरु आवश्यक्तालाई हेर्दा नेपाल प्रहरी न्युनतम १ लाखको संख्यामा तत्काल जरुरी छ । त्यस्तै सीमा, सुरक्षा लगायत अरु चोरी, तस्करी नियन्त्रण, राजश्व अभिवृद्धि लगायतका अभिभाराहरुको कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बलमा अहिलेको अवस्थामा न्युनतम ५० हजार संख्याको प्रहरी फोर्स जरुरी देखिन्छ ।’

गृहसचिव पाण्डेले आन्तरिक रुपमा रहेका विकृति र विसंगतिलाई हटाउनु दुवै प्रहरी बलका लागि चुनौति रहेको बताए । उनले विगतमा भोगेका भन्दा नविन ढाँचाका अपराधका प्रकृतिहरु विकास भइरहेकोले तिनको नियन्त्रण र त्यस्ता चुनौतिहरुको सामना गर्न सक्षम प्रहरी संगठनको निर्माण गर्नुपर्नेसमेत बताए ।

प्रतिक्रिया