बिहीबार, जेठ ३, २०८१

मनाङमा यार्सागुम्बा संकलनको चटारो

नेपालखोज २०७९ वैशाख १९ गते १३:२२

मनाङ । मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा संकलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि संकलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् ।

जडीबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न अनुमति दिएको हो । एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ । यार्सागुम्बा संकलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था छ ।

जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । उनीहरुलाई आयस्रोत जुटाउने र निर्वाचनमार्फत प्रतिनिधि चयन गर्नुपर्ने दोहोरो चटारो छ । यार्सागुम्बा संकलन गर्न मनाङवासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गरेका छन् । जडीबुटी संकलनको समय भएकाले यहाँको सुरक्षाका लागि चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनले भने, ‘यार्सागुम्बा संकलन क्षेत्रमा सुरक्षाकर्मी पुग्नुपर्ने हुन्छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउन जुटेका छौं ।’

नाम्केखर्क, नारफु, माथिल्लो मनाङको खाङ्सार खर्कदलगायत क्षेत्रमा यार्सागुम्बा संकलन गरिँदै आएको एक्याप इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । असार अन्तिम हप्तासम्म यार्सागुम्बा संकलन गरिन्छ । मनाङवासीलाई नागरिकता वा बसाइँसराइको प्रमाणपत्रका आधारामा यार्सागुम्बा संकलनको पूर्जी दिइन्छ ।

यार्सागुम्बा संकलनको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिइने गौतमले बताए । मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्य रुपमा कोभिड-१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ ।

दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री हुन नसक्दा जिल्लाको राजस्व घटेको थियो । यसवर्ष जडीबुटी संकलन भइरहेकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ ।-रासस

प्रतिक्रिया