शुक्रबार, भदौ २८, २०८१

अर्थमन्त्रीले भने- आवश्यक परे सरकारी, बाँझो र वनको जग्गासमेत प्रयोग गरिनेछ

ढुंगा-गिट्टी निर्यात गरेर आर्थिक अवस्था सुधार्न उद्योगीको सुझाव

नेपालखोज २०७९ वैशाख १९ गते १४:५०

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक लगानी भित्र्याउन पहल गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । काठमाडौंमा सोमबार उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘पूर्वबजेट अन्तर्क्रिया’ कार्यममा उनले वैदेशिक लगानी भित्र्याउन उद्योगीले पहल गरे सरकारले सहजीकरण गर्ने जनाए ।

उद्योगीले ५० वर्षसम्मका लागि उद्योग व्यवसाय गर्न जग्गा उपलब्ध गराउन गरेको आग्रहलाई अर्थमन्त्री शर्माले नीति ल्याएर जग्गा दिन सकिने जनाए । उनले सरकारी, बाँझो र बनको जग्गा प्रयोग गर्नसमेत सरकारपछि नपर्ने आश्वासन दिए । विद्युत् समस्याले उद्योगको अवस्था धराशायी हुँदै गएको भन्ने उद्योगीको गुनासोमा उनले समस्याको शीघ्र समाधानमा लागि पर्ने जनाए ।

अर्थमन्त्री शर्माले सरकार बजेट निर्माणको अन्तिम चरणमा रहेकाले खास नीति बनाएर सुझाव दिन उद्योगीलाई आग्रह गरे । उत्पादनमा आधारित अर्थतन्त्र, आत्मनिर्भर अर्थतन्त्रलगायतमा सरकार प्रतिबद्ध रहेकाले व्यक्तिगत स्वार्थमा लाग्नेविरुद्ध खबरदारी गर्न अर्थमन्त्री शर्माले आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले राजस्व बढाएर ऋणको मात्रा कम गर्ने सरकारको नीति भएकाले उद्योगी व्यवसायीले यसमा सहयोग गर्नुपर्नेमा जोड दिए । देशभित्र उत्पादन बढाउन सकेमात्र देशको आर्थिक उत्पादन हुने भएकाले कृषि क्षेत्रको प्रवर्द्धनमा भूमिका खेल्न उनले आग्रह गरेका छन् ।

निर्यात गरेर राजस्व बढाउन सकिने ऊर्जा, सिमेन्ट, जुत्ता, पानी, जडीबुटीलगायतका क्षेत्र छानेर लागनी गर्न मरासिनीले उद्योगीलाई आग्रह गरेका छन् । उद्योगीहरूले चुरेबाहेक अन्य सम्भावित ठाउँको खनिज ढुंगा, गिट्टी, बालुवा निर्यात गरेर देशको आर्थिक विकास गर्न सकिने सुझाव पनि दिए । खनिज पदार्थको निर्यातमा जोड दिइए आर्थिक तरलता कम गर्न मद्दत पुग्ने उद्योगीको सुझाव छ ।

प्रतिक्रिया