आइतबार, भदौ ३०, २०८१

सरकारका ६ बुँदे निर्णय- शिशु स्याहार केन्द्र सञ्चालनदेखि आईजीपी नियुक्तिसम्म

नेपालखोज २०७९ वैशाख १९ गते १८:४३

काठमाडौं । मन्त्रिपरिषद्को आइतबारको निर्णयहरु सार्वजनिक भएका छन् । आज सरकारले निर्णयहरु सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषदका निर्णयहरुमा नेपाल प्रहरीमा धिरज प्रताप सिंह र सशस्त्र प्रहरीमा राजु अर्याललाई आइजीपी बढुवा नियुक्रि गरिएको विषय २ र ३ नम्बरमा छन् । पहिलो नम्बरमा कोष तथा लेखा नियन्त्रक कार्यालय, खोटाङको लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने उल्लेख छ । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामति कर्मचारी श्रीमती संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको पनि बताए । प्रवक्ता कार्कीले भने, ‘कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । प्रहरी नियमावली २०७१ को नियम ४१ बमोजिम मिति २०७९ वैशाख १९ गतेदेखि लागू हुनेगरि प्रहरी अतिरिक्त महानिरीक्षकमध्ये सबैभन्दा उपयुक्त देखिएका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको छ ।’

प्रवक्ता कार्कीले सरकारले लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित दिव्तीय श्रेणीका तीन जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको पनि बताए ।

प्रतिक्रिया