शुक्रबार, भदौ २८, २०८१

प्रशिक्षकसँगको विवाद कहाँ पुग्यो ? विभिन्न निकाय धाउँदै खेलाडी !

नेपालखोज २०७९ वैशाख २० गते १७:३२

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवाद यति बेला राष्ट्रिय खेलकुद परिषद्सम्म पुगेको छ । अखिल नेपाल फुटबल संघ एन्फाबाट यो विवादका लागि उचित पहल नभएको भन्दै खेलाडी पछिल्लो पटक खेलकुद मन्त्रालय र राखेप धाएका छन ।

सोमबारमात्र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई भेटेर घटनाबारे जानकारी गराएका १० खेलाडीले मंगलबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई जानकारी गराएका छन । यतिमात्र होइन, खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारीलाई भेटेर यो घटनाको जानकारी दिएका छन । खेलाडी संघमा ज्ञापनपत्र बुझाउँदै खेलाडीले यो घटनाको सत्यतथ्य छानविनका लागि सहयोगको माग गरेका छन् । अखिल नेपाल फुटबल खेलाडी संघको मातहतमा रहेर खेलाडीले एनएनआइपीएमा ज्ञापनपत्र बुझाएका हुन ।

उनीहरुले राष्ट्रिय टोलीको अवस्थाबारे खेलाडीले ब्यवस्थापनसँग पटक पटक कुरा राख्दा समेत नेतृत्वबाट सम्बोधन नभएको गुनासो गरेका छन् । खेलाडीलाई सार्वजनिक रुपमा नै झुटो आरोप लगाएको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघबाट पनि निस्पक्ष छानविन र न्यायका निम्ति पहल गर्न अनुरोध गरेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाहका कारण आफुहरुलाई अन्याय भएको र खेलाडीको हकहितमा बोल्दा उल्टो आफु दोषी देखिएको भन्दै खेलाडीले यतिबेला उचित छानविनका लागि पछिल्लो दुई दिनमा एन्फा देखि मन्त्रालय र राखेपमा पत्र बुझाएका छन् ।

अहिले आएर यो घटनाले झन झन ठूलो रुप लिन थालेको छ । खेलाडी उचित छानविन गरेर दोषीलाई कारवाही होस भनेर अनुरोध गरिरहेका छन् । यस्तैमा यो घटनालाई खेलाडीले एनएनआइपीएका पदाधिकारीसँग भेटेर पत्र नै बुझाएका छन । त्यसपछि उनीहरुले राखेपका सदस्यसचिव घिसिङलाई भेटेर आफुलाई अन्याय भएको र यसको निराकरणका लागि राखेपबाट पहलका लागि अनुरोध गरेको बताइएको छ ।

खेलाडीको अनुरोधमा सदस्यसचिव घिसिङले छानविनका लागि मौखिक रुपमा फेरीपनि एन्फालाई भन्ने बताए । साथै उनले एन्फा भित्रको समस्या एन्फाले नै समाधान गर्नका लाग पहल गर्ने आश्वासन दिए । घिसिङले यो विवाद समाधानका लागि मौखिक रुपमा एन्फालाई आज निर्देशन गर्ने र नभएको खण्डमा पत्र काटेर खेलाडीको छानविन होस भनेर निर्देशन दिने बताए । सदस्यसचिव घिसिङसँग खेलाडीले यदि आफु दोशी भएको खण्डमा कारवाही भोग्न तयार रहेको बताए ।

प्रतिक्रिया