रामचन्द्रलाई जगन्नाथको जवाफ- भोलि प्रचण्डलाई सहयोग गरौंला, दोहोर्‍याएर रेणुलाई गर्न सक्दैनौं

नेपालखोज २०७९ वैशाख २२ गते ११:१४

काठमाडौं । माओवादीकी उम्मद्‍वार रेणु दाहाललाई मत माग्न भरतपुग पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले महानगरपालिकामा गठबन्धनका बागी उम्मेद्‍वार बनेका जगन्नाथ पौडेललाई भेटेका छन् । पौडेलले आज भरतपुरको एक होटलमा बागी उम्मेद्‍वार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

जगन्नाथले मेयरको उम्मेद्‍वारी दिँदा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए । भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयर र कांग्रेसका चित्रसेन अधिकारी उपमेयरको उम्मेद्‍वार बनेका छन्।

गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका पौडेलले उनीहरुलाई भेटेर उम्मेद्‍वारी फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा उनीहरुले कांग्रेस जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको भन्दै फिर्ता नहुने बताएका थिए । सत्ता गठबन्धन सहमतिअनुसार भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस नेता जगन्नाथले विद्रोह गरेका छन् ।

कांग्रेसको असन्तुष्ट समूहले मेयरमा मात्र बागी उम्मेद्‍वारी दिएको हो । जगन्नाथको उम्मेदवारी फिर्ताका लागि यसअघि पनि गठबन्धनका नेताहरुले प्रयास गरेका थिए । तर जगन्नाथले पार्टीका नेताहरुको आग्रह र पार्टीको निर्देशन अस्वीकार गरेका छन् ।

भरतपुरमा यसपटक कांग्रेसले मेयर पाउनुपर्ने स्थानीय नेता/कार्यकर्ताको माग थियो । उनीहरूले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पटक-पटक यस विषयमा दबाब पनि दिएका थिए । तर, गठबन्धनको भागबन्डामा भरतपुर माओवादीलाई पर्‍यो । र, यसअघिकी मेयर दाहालले नै पुन: टिकट पाइन् ।

त्यसपछि पूर्वसांसद समेत रहेका जगन्नाथले स्वतन्त्र उम्मेद्‍वारी दिए । आजको भेटमा रामचन्द्रले जगन्नाथलाई उम्मेदवारी निस्कृय बनाउन आग्रह गरे । तर, जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेद्‍वारी कायमै राख्ने अडान दोहोर्‍याएको बताइन्छ ।

भेटमा वरिष्ठ नेताल पौडेलले संविधान सिध्याउने षड्यन्त्र भइरहेको र स्थानीय तहसम्मै षड्यन्त्रको डिजाइन भइरहेकोले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए । जवाफमा जगन्नाथका प्रस्तावक एवं पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले कांग्रेस जोगाउन आफूहरूले स्वतन्त्र प्रतिस्पर्धा गरेकाले उम्मेदवारी फिर्ता नहुने अडान दोहोर्‍याए । भेटमा सापकोटाले पौडेललाई भने- ‘रामचन्द्रजी तपाईंले बारम्बार फोन गर्नुभएकोले सम्मान स्वरुप भेट्न आएका हौं । गठबन्धनका विषयमा हाम्रो विमति छैन । भोलि प्रचण्डलाई सहयोग पनि गरौंला । यसपटक दोहोर्‍याएर रेणुलाई सहयोग गर्न भने सक्दैनौं ।’

जगन्नाथले कांग्रेस बचाउने अभियानमा आफू एक्लै नरहेको र धेरैको साथ पाएकोले पछाडि फर्कने अवस्था नरहेको बताए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले छलफल गर्ने भनिए पनि उनीहरू पौडेललाई मात्रै भेटेर फर्किएका छन् । यसअघि कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेशलाल श्रेष्ठले पनि चितवन पुगेर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, उनी पछि हटेनन्।

बिहीबार नै भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्दैछ। सभालाई कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । जसका लागि देउवा बुधबार बेलुकादेखि चितवनमै छन् ।

बिहीबार हुने चुनावी सभाअघि नै रामचन्द्रले जगन्नाथलाई फकाउने प्रयास गरेका हुन् ।

प्रतिक्रिया