शनिबार, असोज ५, २०८१

विप्लवको कारबाही काउन्टरमा उदय र गुणराज, आरोप-प्रत्यारोपले नेकपा नै बिसर्जनतर्फ

नेपालखोज २०७९ वैशाख २२ गते १२:०५

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई केन्द्रीय सदस्यलाई कारबाही गरेको छ। पर्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्यद्वय उदयबहादुर चलाउने ‘दीपक’ र गुणराज लोहनीलाई निलम्बन गरिएको उल्लेख छ ।

सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको बताइएको छ । पर्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने, जनक्रान्तिलाई बिसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाउने, पार्टी नेतृत्वविरुद्ध विष वमन गरेका कारण उनीहरूलाई निलम्बन गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘अन्ततः पार्टी, एकीकृत जनक्रान्ति, पार्टी पद्धति र अनुशासनविरुद्ध अक्षम्य गल्ती गरेका कारण पार्टी केन्द्रीय समितिको सचिवालयको बैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरि निलम्बन गरेको छ ।’

विप्लवले यसअघि दुईजना सचिवालय सदस्य, तीनजना पूर्ण केन्द्रीय सदस्य र ५/६ जना वैकल्पिक सस्दयलाई हटाइसकेका छन्। यसअघि गत वैशाख १४ मा विप्लवले हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई जिम्मेवारीबाट हटाएका थिए।

नेकपाको असन्तुष्ट पक्षको चितवनमा आजबाट सुरु भएको राष्ट्रिय भेलाले पार्टी महासचिव ‘विप्लव’लाई महासचिवबाट निष्कासित गरेकै दिन संस्थापन पक्षले पार्टीका केन्द्रीय सदस्य उदय चलाउने ‘दिपक’ र गुणराज लोहनीलाई पार्टीबाट निलम्बन गरेको हो ।

केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष ईश्वरी दाहालको नेतृत्वमा वली र बास्तोला पक्षले बुधबार चितवनमा भेला गरेर विप्लव र प्रकाण्डलाई पार्टी जिम्मेवारीबाट हटाउने निर्णय गरेका थिए ।

उनीहरूले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी तथा क्रान्तिलाई धोका दिएको आरोप लगाएका थिए।

प्रतिक्रिया