मंगलबार, वैशाख १८, २०८१

‘अधिकांश होटेल काठमाडौंमा रहेकाले मानिस बाहिरी जिल्ला जाँदैनन्’

नेपालखोज २०७९ वैशाख २२ गते १४:१३

काठमाडाैं । होटेल एसाेसिएसन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । बिहीवार काठमाडौंमा सेफ्स एसाेसिएसन अफ नेपालको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा सेफहरु मनग्य उत्पादन भएपनि सबै क्षेत्रमा पुर्‍याउन नसकिएको बताए । अधिकांश पाँचतारे होटलहरु काठमाडौंमा रहेकोले मानिसहरु पनि सुविधाका कारण बाहिरी जिल्लामा जान नरुचाउने गरेको बताए । वरिष्ठ उपाध्यक्ष साहले सिद्धहस्त सेफको पहिलो रोजाइ विदेश भएकोले पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष साहले भने, ‘यसमा अहिले व्यवस्थापनको समस्या छ । सेफ उत्पादन मनग्य भएको छ । तर काठमाडौंमा सबै केन्द्रित हुनुहुन्छ । काठमाडौं भन्दा बाहिर पनि धेरै ठाउँमा पाँचतारे होटेल बनेका छन् । तर मान्छेहरु जानुहुन्न । अर्को कुरा जुन नेपालमा चेन होटलहरु छन्, उहाँहरुको कन्ट्याक्टमा नै सेफलाई निश्चित ठाउँबाट आउने भनिएको हुन्छ ।’

त्यस्तै सेफ्स एसाेसिएसन अफ नेपालका अध्यक्ष श्याम लामाले सेफहरुको क्षेत्रमा सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले सेफ सोसाइटीले गरेको क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्ने बताए ।

अध्यक्ष लामाले भने, ‘हामीले नेपाली खानालाई देश तथा विदेशमा पुर्‍याउने भन्ने योजनाका साथ हामीले विभिन्न भाषा, भेषभुषा, कल्चरसहितका खानाहरु पस्किरहेका छौं, हामी जतिपनि सेफ सोसाइटीमा बसेर सेफ सोसाइटीले जे जस्तो गरिरहेको छ यसमा सरकारले पनि ध्यान जाओस् भन्ने हाम्रो माग हो । नेपाल सरकारको तर्फबाट पनि सेफहरु सबैमा सरकारले बजेट छुट्याएर हामीले सातै प्रदेशमा ७७ जिल्लामा हामीलाई नेपाली खानाहरुको बारेमा, नेपाली खानाको हक हीतको बारेमा सहयोग गर्ने हो भने हामी अघि बढ्न सक्छौं ।’

सेफ्स एसाेसिएसन अफ नेपालले खानाको शुद्धता तथा स्वास्थ्यता हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहित यस वर्ष आफ्नो २८ औँ वार्षिकोत्सव मनाइरहेको छ ।

प्रतिक्रिया