कामपाका मेयरलाई थापाको प्रश्न- चुनावमा गरिएका प्रतिबद्धता पूरा भयो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन् ।
आज नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताएका हुन् ।
चुनावको बेलामा गरिएको प्रतिवद्धताअनुसार काठमाडौंमा कति सफा भयो ?, काठमाडौं कति सहज भयो यसको उत्तर महानगरबासिलाई दिनुपर्ने उनले बताए । आफ्नो प्रतिवद्धता पुरा भए नभएको सम्बन्धमा जवाफदेहिता लिन उनले आग्रह गरेका छन् ।
महामन्त्री थापाले केही पार्टीका नेता तथा उम्मेदवारहरुले महिलामाथि अपमान गरेको बताएका छन् । उनले महिला हुनुलाई नै अयोग्यताको रुपमा हेर्नेहरुलाई काठमाडौंका महिलाहरुले चुनावमार्फत् उत्तर दिनुपर्ने पनि बताए ।
उनले नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा जो भेट्यो त्यहीसँग तालमेल र गठबन्धन गरिरहेको बताए । उनले एमालेले एउटा वडामा हिन्दु धर्मको वकालत गर्ने कमल थापाको पार्टीसँग र अर्को वडामा क्रिश्चियन धर्मको वकालत गर्ने परिवार दलसँगसमेत तालमेल गरेको टिप्पणी गरे ।

प्रतिक्रिया