बयल गाडाका प्रवर्तक केपी ओलीले गफमा विद्यावारिधि गरेका छन् : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयल गाडाका प्रवर्तक र भ्रमको खेती गर्ने पात्रमात्र रहेको टिप्पणी गरेका छन् । बिहीबार चितवनको भरतपुरमा गठबन्धनका तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै संविधान र लोकतन्त्र समाप्त हुनबाट जोगाउन गठबन्धन बनाइएको पनि बताए ।
केपी ओलीको बखान गर्न जरुरी नभएको भन्दै सम्बोधन गर्न सुरु गरेका नेपालले हजार जिब्रो भएका शेषनागले समेत ओलीको बखान गर्न नसक्ने बताए । नेपालले एमालेलाई ‘कुहिएको फर्सी’ कोसमेत संज्ञा दिए । ओलीका कुरा विश्वास गरे दुःख पाइने टिप्पणी गरे । उनले भने, ‘एमाले कुहिएको फर्सी हो, त्यसको काम छैन । कुहिएको फर्सी छुनुभयो, खानुभयो भनेपनि रोगव्याधी लाग्छ । जसलाई सोधे पनि रेणु दाहाल विकासप्रेमी मेयर हो भन्छन् । त्यसैले यो भरतपुरमा उहाँले धेरै काम गरिसक्नुभएको छ । अब थप विकासका लागि पनि उहाँसँग योजना छन् । त्यसैले उहाँलाई भरतपुरले जिताउनुपर्छ ।’
गठबन्धनले गर्नसक्ने कुरा मात्रै गर्ने भन्दै गफाडीको गफजस्तो कुरा गठबन्धनले नगर्ने बताए । उनले भने, ‘हजार जिब्रो भएका शेषनागले त सक्दैनन् मैले कसरी सक्छु ? बयल गाडाका प्रवर्तक केपी ओली हो । उनले गफमा विद्यावारिधि गरेका छन् । झुट र भ्रमको खेती गर्छन् होस् गर्नुहोला ।’
उनले केपी शर्मा ओलीको वर्णन हजार जिब्रो भएको शेषनागले पनि गर्न नसक्ने बताए । उनले भने, ‘केपी ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन् । महागफाडी हुन् । गफमा उनले विद्यावारिधी हासिल गरेका छन् । झूठको पुलिन्दा बनाउनसक्छन् । भ्रमको खेती गर्नसक्छन् । होस् गर्नुहोला, ख्याल गर्नुहोला । ओलीका कुरा हतारमा पत्यायो भने फुर्सदमा पछुताउनुपर्छ ।’
प्रतिक्रिया