शुक्रबार, भदौ २८, २०८१

भरतपुरमा रेणुले जितेमात्र गठबन्धनलाई दीर्घकालसम्म लैजाने उत्साह मिल्छ : प्रचण्ड

नेपालखोज २०७९ वैशाख २२ गते १७:१०

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धनको सभामा प्रचण्डले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेलले अन्तिम समयसम्म बिचार गर्ने विश्वाससमेत लिएको बताएका छन् ।

प्रचण्डले जगन्नाथले अन्तिम समयसम्म विचार नगरे पनि आफ्नो चित्त दुखाई नहुने बताए । उनले भने, ‘मलाईं विश्वास छ, अन्तिमसम्म उहाँहरूले बिचार गर्नुहुनेछ । विचार गर्नुभएन भने पनि जगन्नाथसँग मेरो कुनै विद्वेष हुनेछैन । उहाँको अधिकार हो । उहाँको लोकतान्त्रिक अधिकार हो उहाँले आफ्नो अधिकार प्रयोग गर्न सक्नुहुन्छ । तर गठबन्धन र नेपाली जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छ । चितवनका परिवर्तनकारी, क्रान्तिकारी जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छन् । जनताले गरेको फैसला सर्व स्वीकार्य हुनेछ ।’

उनले यति बेला दुनियाँभरका शक्तिले भरतपुरमा ध्यान दिएको बताउँदै प्रचण्डलाई ठेगान लगाउने यही बेला हो भनेर देशी विदेशी शक्ति लागेको बताए । आफूलाई ठेगान लगाए अहिले आएको परिवर्तन उल्टाउन सकिने उनीहरूको विश्वास रहेको र त्यसलाई सफल हुन नदिन आग्रह गरे । उनले केपी ओलीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् नछोड्नुस, हाम्रो भोट पनि खनाइदिउँला भनेको उल्लेख गर्दै सो कुरामा भर नपर्न आग्रह गरे । उनले फेरी एमालेसँग गठबन्धन गर्नतिर लागेर फेरि अर्को गल्ती नगर्ने प्रतिबद्धता जनाए ।

प्रचण्डले भरतपुरमा जिते मात्रै गठबन्धनलाई दीर्घकालसम्म लैजाने उत्साह मिल्ने बताए । प्रचण्डले आफूलाई शंका नगर्न आग्रह गर्दै सबैको साथ भए गठबन्धनलाई दीर्घकालसम्म लैजाने बताए । उनले भने, ‘ममाथि शंका नगर्नुस् । युद्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधानसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो । हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौँ । यसलाई जोगाएर जानुको विकल्प छैन ।’

आफू विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको षड्यन्त्र जारी रहे पनि जनताले उचित फैसला दिने प्रचण्डको भनाई छ । उनले भने, ‘एमालेका केही नेताहरू मिलौँ भन्न आएका छन् तर गल्ती दोहोर्‍याउँदिन भनेको छु । म जनताको फैसला हेर्न चाहन्छु ।’

भरतपुर महानगरपालिकाले विकास र सुशासनमा रेकर्ड कायम गरेको भन्दै उनले रेनु दाहालको कामबाट सबैले गर्व गरेको बताए ।

प्रतिक्रिया