शुक्रबार, चैत १६, २०८०

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड वितरण (तस्बिरसहित)

नेपालखोज २०७९ वैशाख २३ गते १०:३१

काठमाडौं । गोरखाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड वितरण गरिएको छ । सेलिब्रिटी नेपालको आयोजनामा गत वैशाख ५ देखि ७ गतेसम्म यो महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा जुरी टिमले विभिन्न ९ विधाका उत्कृष्ट छनोट गरेको थियो । महोत्सवमा उपस्थित हुन नसकेर अवार्ड लिन बाँकी रहेका चलचित्रकर्मीहरूलाई बिहीबार राजधानीमा एक कार्यक्रम गरी अवार्ड वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

महोत्सवमा सर्वोकृष्ट अभिनेतातर्फ ‘चिसो आत्मा’बाट प्रविन खतिवडाले जितेको अवार्ड उनलाई प्रदान गरियो भने सर्वोत्कृष्ट अभिनेत्रीतर्फ ‘मौन प्रतिशोध’बाट शारदा अधिकारीले जितेको अवार्ड पनि बिहीबार प्रदान गरिएको छ । त्यस्तै, उत्कृष्ट फिचर फिल्मतर्फ ‘टुल्की’ले जितेको अवार्ड निर्माता आरपी कर्माचार्यलाई प्रदान गरियो भने ‘स्क्रिन प्ले’तर्फ ‘टुल्की’बाटै शेखर लामाले जितेको अवार्ड उनी स्वयंमको हातमा प्रदान गरियो ।

उत्कृष्ट निर्देशकतर्फ ‘टिष्टापारीको साईनो’बाट खिलबहादुर गुरुङले जितेको अवार्ड पनि बिहीबार उनी स्वयंलाई प्रदान गरियो । चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिँह राणा, महोत्सव आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, गायक एवं संगीतकार राज सागर, अभिनेता गजित विष्ट लगायतले अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा पत्रकार अन्जान दाहाल (मनीष), कलाकार प्रेम पाण्डे, अभिनेत्री वर्षा खड्का, निर्माता सुदीप पोखरेल, निर्माता सुनील पोखरेल, खेलाडी निर्माता तथा समाजसेवी प्रेमकुमार श्रेष्ठ, निर्माता एवं समाजसेवी रामशरण रानालाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै, जुरी टिममा रहेका कलाकार रवीन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीलाई पनि बिहीबार जुरी प्रमाणपत्र वितरण गरिएको थियो ।

नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्यमा भएको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इन्डस्ट्रिज’ रहेको थियो । महोत्सवको डिजिटल पार्टनर डीएआर डिजिटल रहेको थियो ।

प्रतिक्रिया