शुक्रबार, वैशाख ७, २०८१

सतिसाल ?

मित्र ‘उराठी’ गौतम २०७९ वैशाख २४ गते ११:४७

चुनावी सरगर्मी निकै बढेको छ । …पार्टी जिन्दावादको नारा घन्काउँदै नाच्दै, गाउँदै एक हुल उनको आँगनमै पुग्यो । उनी भित्रबाट बाहिर निस्किए । एकछिन आँगनमै नाचगान चल्यो । हुलको नेतृत्वकर्ताले टीका र खादा लगाइदिए ।

‘तपाईंलाई हाम्रो गौरवशाली पार्टीमा स्वागत छ । तपाईंजस्तो व्यक्ति हाम्रो पार्टीमा प्रवेश गरेकोमा हामी गर्व गर्छौं ।अब हाम्रो जित निश्चित छ । हाम्रो पार्टीले तपाईंको उच्च मूल्यांकन गर्नेछ र सोहीबमोजिम जिम्मेवारी दिनेछ । तपाईंलाई हार्दिक बधाई छ ।’ -नेताज्यूले भाषण ठोके ।

उपस्थित हुलले ताली बजायो ।

उनलाई पनि नयाँ पार्टी प्रवेश गरेको सन्दर्भमा आफ्ना भनाइ राख्न आग्रह गरियो ।

‘म हालसम्म जुन आस्था र भरोसाका साथ त्यो पार्टीमा लागेको थिएँ त्यो अवस्था अब रहेन । त्यो पार्टीले आफ्नो सिद्धान्त, निष्ठा सबै छोड्दै गयो । पदलोलुपता र नातावादमा अल्झियो । भ्रष्टाचारको दलदलमा फस्दै गयो । त्यसैले आजका मितिदेखि त्यो पार्टी छोडेर यो पार्टीमा प्रवेश गरेको छु । अब देश र जनताको उत्तम विकल्प भनेकै यही पार्टी हो ।’ -उनले आफ्नो मन्तव्य व्यक्त गरे ।

फेरि तालीको पर्रा छुट्यो । उपस्थित भिडले उनको अनुहारभरि अबिर दल्यो ।

उनले नयाँ पार्टी प्रवेश गरेको खबर सामाजिक सन्जालभरि फैलियो । कुखुराले किरो पाए जस्तै अनलाइन पत्रिकाले खुराक भेट्टाए र भर्चुअल दुनियाँमा छताछुल्ल पारिदिए ।

चुनावकै सिलसिलामा जिल्ला आएका केन्द्रीय नेता साँझ उनको घरमा आइपुगे । नेतासँगै थुप्रै कार्यकर्ता पनि थिए ।

भोलिपल्ट सखारै फेरि सामाजिक सन्जालमा उनको वक्तव्य भाइरल बन्यो ।

वक्तव्य यस्तो थियो- ‘म कुनै पनि हालतमा मेरो माउ पार्टी छोडेर अन्य पार्टीमा प्रवेश गरेको छैन । म मेरो आस्था र भरोसायुक्त पार्टीमा सतिसाल जस्तै अडिग छु । एउटा हुलहुज्जत मेरो घरमा आएर बलजफ्ती बोल्न लगाइएको हो । मेरो इच्छाविपरीत मलाई अबिर दलिएको हो र पार्टी प्रवेश गरेको नाटक गरिएको हो । कोही पनि भ्रममा नपर्नुहोला । म मेरो पार्टीमा यथावत् क्रियाशील रहेको जानकारी गराउँदछु ।’

प्रतिक्रिया