आइतबार, भदौ ३०, २०८१

शान्ति सम्झौताका लागि रुस युद्धअघिको स्थितिमा फर्कनुपर्छ : जेलेन्स्की

नेपालखोज २०७९ वैशाख २४ गते १३:२७

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति सम्झौताका लागि रुसी सेना आक्रमणअघिको स्थितिमा फर्किनु पर्ने बताएका छन् । लन्डनको विशेषज्ञहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिएका हुन् ।

उनले आफूले ‘सानो युक्रेनको नभई युक्रेनको’ नेतृत्व गरिरहेको बताए । तर उनले सन् २०१४ मा रुसद्वारा नियन्त्रणमा लिइएको क्राइमियाबारे उल्लेख गरेनन् । रुसले मारिऊपोल सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सङ्घर्षरत छ ।

रुसी सेनाको आक्रमणको जोखिममा रहेको यस दक्षिणपूर्वी सहरको विशाल स्टिल उद्योग अजोभस्टलमा अझै पनि केही युक्रेनी नागरिक र सैनिकहरू रहेका छन् ।

मारिऊपोलमाथि कब्जा रुसको दुई महिनादेखि जारी युद्धको सबैभन्दा ठूलो उपलब्धि हुनेछ । सहरलाई नियन्त्रणमा लिन सक्नु, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि मे ९ मा पर्ने विजय दिवस मनाउनका निम्ति विशेष कारण बन्नेछ ।

उक्त दिन दोस्रो विश्वयुद्धमा नाजीहरूविरुद्ध सोभियत सङ्घको विजय भएको दिन हो ।

यद्यपि किएभबाट लन्डनमा रहेको विज्ञ समूहसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनमा आक्रमण गरेपछि कब्जा गरेको भूभागमाथि रुसले नियन्त्रण कायम राख्न नसक्ने बताए ।

‘रुस र युक्रेन बीचको युद्ध रोक्नको लागि फेब्रुअरी २३ अघिको स्थिति फर्काउन कदम अघि बढाउनुपर्छ,’ उनले युद्धअघिको अवस्थातर्फ सङ्केत गर्दै बीबीसीसँग भने ।

‘म युक्रेनका जनताद्वारा युक्रेनको राष्ट्रपतिको रूपमा निर्वाचित भएको हुँ, कुनै किसिमको सानो युक्रेनको राष्ट्रपतिको रूपमा होइन । यो धेरै महत्त्वपूर्ण विषय हो,’ उनले भने ।

फेब्रुअरी २३ सम्मको स्थितिबारे चर्चा गर्नुले युक्रेनले रुससँग शान्ति सम्झौता गर्नुअघि क्राइमिया फिर्ता लिनेबारे आग्रह नगर्ने सम्भावना जनाउँछ । उक्त प्रायद्वीपलाई आठ वर्षअघि रुसले आफूमा गाभेको थियो । बीबीसी

प्रतिक्रिया