आइतबार, भदौ ३०, २०८१

केपी ओलीको प्रश्न- प्रचण्डको छोरीले नजित्दा देश कसरी दुर्घटनामा जान्छ ?

नेपालखोज २०७९ वैशाख २५ गते १२:०५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई सफल राष्ट्र बनाउन तीनै तहको सरकारमा नेकपा एमालेको सहभागिता आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पत्रकार सम्मेलन गर्दै ओलीले नेपाली कांग्रेस, राणा र राजाको शासन बराबर रहेकोसमेत बताए ।

निर्वाचन आयोगले गठबन्धनका दलसँगमात्र परामर्श गरेर आचारसंहिता ल्याएको उनले आरोप लगाए । उनले भने, ‘गठबन्धनका दलसँगमात्र कुरा गरे निर्वाचन आचारसंहिता ल्याउने अनि सबैले मानिदिनू पर्ने ? निर्वाचन आयोगले कुन कुन पार्टीको सदस्यता हेरेको छ ? निर्वाचन आयोगले पार्टी सदस्यको पनि लिस्ट राखेको छ । यसका कारण निर्वाचन आयोग यस्ता कुरामा मुछिनु हुँदैन ।’

उनी कांग्रेसप्रति खनिएका थिए। ओलीले सरकारबाट बाहिरिएको समयको प्रसँग निकाल्दै कांग्रेसको षड्यन्त्रले चरम रूप लिएको दाबी गरे । नेकपा एमाले १० वर्ष सरकारमा रहँदा विकासको योजना अनुरुप काम गरेको तर कांग्रेस २७ वर्ष सरकारमा रह्दासमेत केही गर्न नसकेको ओलीको दाबी थियो । उनले भने, ‘कांग्रेसले देश र जनतालाई यातना दिन सशस्त्र द्वन्द्वला ई प्रश्य दियो । कांग्रेसका कारण देश अन्धकारतर्फ धकेलियो । कांग्रेसले सुकुम्बासी घरबारबिहिनका लागि कहिले पनि कार्यक्रम ल्याएन । नीति कार्यक्रम देश विकासका लागि ल्याउँदैन । कांग्रेसको घोषणापत्रले देशलाई अन्धकारतर्फ लैजान खोजेको थप पुष्टि गर्छ ।’

सबै नागरिकलाई विकसित राष्ट्रका नागरिकले पाएँ जति नै भौतिक सुविधा उपलब्ध गराउन एमाले प्रतिबद्ध रहेको समेत उनले बताए । ओलीले नेकपा एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको बताएका छन् । ओलीले एमाले बाहेकका अन्य राजनीतिक दल अनिश्‍चयबाट ग्रसित र विवश रहेको ती दलका नेताहरुले नै स्वीकार गरेको बताएका हुन् । उनले भने, ‘अन्य राजनीतिक दलहरु अनिश्चयबाट ग्रसित र विवश भएको स्वीकार गरिसकेका छन्, एमाले मात्रै राष्ट्रिय एकताको पहरेदारी गर्ने पार्टी हो भन्ने स्पस्ट भइसकेको छ । राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य छैन ।’

ओलीले कमजोर तत्वलाई लिएर नेपाली कांग्रेसले उल्टो बाटो समातेकोसमेत आरोप लगाए । उनले भने, ‘कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो । कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो ।

उनले राजनीतिक दलको आधारभूत मर्ममाथि कांग्रेसले प्रहार गरेको पनि बताए । उनले भने, ‘कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणाली आदर्शको उपहास गर्‍यो । संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो। स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो ।’

उनले प्रचण्डप्रति लक्षित गर्दै तर्साएर भोट मागेको समेत आरोप लगाए । छोरीले नजित्दा देश कसरी दुर्घटनामा जान्छ उनले प्रश्न गरे । उनले भने, ‘त्यसरी तर्साएर भोट माग्न पाइन्छ । उहाँहरुको क्रियाकलाप कस्तो छ । रुकुमपश्चिममा एमालेका घरमै बसेको कार्यकर्तालाई अंगभंग गर्न उहाँहरु लाग्नुभएको छ । अपराधिक फौजधारी अभियोगका काम गरेको छ माओवादीले । जिताइयो भने गठबन्धन १०-१५ वर्षसम्म जान्छ ? छोरीलाई भोट दिनूपर्ने ? कुरा के हो भने उनलाई उत्साहित बनाउन ।’

एमालेले संविधानको रक्षा गर्न र जनताको अधिकार रक्षाका लागि चुनावमा जाने निर्णय गरे पनि सर्वोच्च अदालतको परमादेशपछि नयाँ सरकार बनेको ओलीको भनाइ थियो । उनले भने, ‘त्यसबेला एमाले सरकारका सामु अन्य विकल्प थिएन, जनादेशका लागि जनतामा जाने निष्कर्ष भयो । तर अदालतको परमादेशले सरकार बदलियो । विकास अभियान फेरि एकपटक अवरूद्ध भयो । चरम पदीय स्वार्थ राखेर संविधानको आधारभूत मर्ममाथि गरिएको प्रहारलाई जनताकै मतबाट प्रहार गर्न हामी आएका छौं ।’

प्रतिक्रिया