१७ अंकले नेप्से बढ्दा एक अर्ब ३२ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से बढेको छ । कारोबार सुरु भएदेखि घट्न सुरु गरेको नेप्से साढे १२ बजे ३५ अंकले घटेको थियो । तर बन्द हुने बेलामा नेप्से १७ दशमलव ९५ अंकले बढेर २२ सय ५६ दशमलव ५७ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८० अंकले बढेर चार सय ३६ दशमलव ३५ अंकमा पुगेको छ । दुई सय ३३ कम्पनीको २७ हजार दुई सय २९ पटकको कारोबारमा ३३ लाख ४१ हजार दुई सय १४ कित्ता सेयर खरिद-बिक्री भएका छन् । सोही खरिद-बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६ सय ७१ रुपैयाँ पुगेको छ ।
आज जाल्पा लघुवित्तको सेयर १० प्रतिशतले तथा घलेम्दी हाइड्रो र माउन्टेन इनर्जी नेपालको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि उन्नति सहकार्य लघुवित्त कम्पनीको सेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।
आज बैंक र माइक्रोफाइनान्सबाहेक अरू समूहको सेयर सामान्य बढेको छ । नागरिक लगानी कोषको प्रतिकित्ता २७ सय ३८ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ५३ लाख ५९ हजार चार सय ५५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया