‘केशव स्थापितले नयाँ बसपार्क खाए, अब जिते भने खुला ठाउँ कतै बाँकी राख्दैनन्’
काठमाडौं । स्वच्छ, सफा, सुन्दर र सुशासन नै काठमाडौं महानगरवासीको सपना भएकाले सोही भेटाउने आफ्नो लक्ष्य भएको काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेद्वार सिर्जना सिंहले बताएकी छन् ।
´सेवा, सुशासन, शिक्षा स्वास्थ्य तथा समाजिक सुरक्षा र सुरक्षित काठमाडौं सहर नै हामी सबैको सपना हो,` सिंहले भनिन् । उनले आफू मेयर भएपछि गर्ने सात संकल्प आगाडि सारेको बताउँदै दिगो पर्यावरण संस्कृति र सम्पदाको संरक्षणसहितको सिर्जनशील महागरवासी बनाउने उद्घोषसमेत गरिन् ।
काठमाडौं चेतनशील राष्ट्रिय व्यावसायिक समाजले ‘उम्मेदवारसँग मतदाता’ भन्ने विषयमा राखिएको छलफल कार्यक्रममा सिंहले समृद्ध भइसकेको सहरलाई व्यवस्थापन गर्ने दाबी गरिन् । ´काठमाडौं समृद्ध छ, व्यवस्थापन नभएको हो, मेरो जिम्मेवारी व्यवस्थापन गराउने हो,` सिंहले भनिन् ।
ठूला सपना देखाउनेभन्दा पनि गर्न सकिने र गर्नपर्ने कामको सूची आफूसँग रहेकाले सबैको सहकार्य गरेर काठमाडौं सुधार्ने अभियानमा सफल हुनेसमेत उनको दाबी थियो । काठमाडौं बनाउनुको विकल्प नरहेको बताउँदै मेरो पार्टीले निकालेको घोषणापत्र र मेरो संकल्प पत्रलाई हेरेरै काठमाडौंको विकास गर्ने सिंहको भनाइ थियो । अहिलेको नेतृत्वले फोहोरसमेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको उनले बताइन् ।
काठमाडौंको फोहोर घर-घरबाटै व्यवस्था गर्न सकिने विज्ञहरुले सुझाव दिएको बताउँदै फोहोरलाई विनाकारण ठूलो समस्या बनाएको सिंहले बताइन् । ‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौं, विदेशी आउँदा नाक खुम्च्याउने छैनन्, सम्पदाको संरक्षण गर्नेछौ,’ सिंहले भनिन्, ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो ।’ घरघरबाटै सबैलाई महानगरले सेवा दिनेसमेत उनले बताइन् ।
सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिँड्ने वातावरण बनाउनेसमेत सिंहले बताइन् । ´काठमाडौं ७७ जिल्लावासीको महानगर हो, सबैको सुरक्षाको जिम्मा लिन्छु,’ सिहंले भनिन् । महिला होस् वा पुरुष सबैलाई आत्मनिर्भर बनाउने आफ्नो दायित्व हुने सिंहले बताइन् । ‘अब काठमाडौंमा पार्क र पोखरी बन्छन्, खुला मैदान सुरक्षित हुन्छन्,` सिंहले भनिन् ।
कार्यक्रममा उपमेयर हरिप्रभा खड्कीले नेतृत्वमा महिला हुनुपर्छ भनेर आवज उठाएको बताउँदै अहिले काठमाडौंबाट पार्टीले मेयरको रुपमा सिर्जना सिंहलाई आगाडि सारेको बताइन् । उनले जसरी भए पनि सिंहलाई विजयी बनाउनुपर्ने पनि बताइन् ।
‘महिलाले सुशासन दिन्छन् र व्यवस्थित सहर बनाउनेछन्, खारिएकी आमाले अब नेतृत्व सिर्जना सिंहले गर्नुहुन्छ,’ खड्कीले भनिन् । ठूला कुरा गरेर मत लिनुपर्ने छैन, साना कुराले नै काठमाडौं बनाउनेसमेत खड्कीको भनाइ छ ।
‘काठमाडौं नयाँ बसपार्क पीएल सिंहले बनाएको तर ४५ वर्षलाई २०५४ सालमा केशव स्थापितले विनाप्रतिस्पर्धा दिएका हुन्, अहिलेसम्म कब्जा भइरहेको छ,’ खड्कीले भनिन् । स्थापितले काठमाडौंका सबै खुला ठाउँ मात्रै नभएर धरहरासमेत भाडामा दिने भएकाले मतदातालाई भोट हाल्दा विचार गर्न खड्गीले आग्रहसमेत गरिन् ।
प्रतिक्रिया