ईयूमा सामेल हुन युक्रेनलाई दशकौं लाग्ने
काठमाडाैं । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले युक्रेनलाई युरोपेली संघ ईयूमा स्वीकार्न दशकौँ लाग्ने बताएका छन् । ईयूको संसद्लाई सम्बोधन गर्दै उनले ईयूको साटो समानान्तर ‘युरोपियन कम्युनिटी’मा सामेल हुन युक्रेनलाई सुझाव दिए । युक्रेन उक्त निर्णयको पर्खाइमा रहेको छ ।
माक्रोँका भनाइमा उक्त कम्युनिटीमा सहभागी भएपछि गैरईयू सदस्यहरूलाई युरोपको सुरक्षा संरचनामा अन्य तरिकाबाट सामेल हुन अनुमति दिनेछ । पूर्वी युक्रेनको डोनबास क्षेत्रमा भयङ्कर लडाइँ जारी रहेका बेला माक्रोँको त्यस्तो भनाइ आएको हो । उक्त क्षेत्रमा रुसले लाभ उठाउन खोजिरहेको छ ।
एकजना वरिष्ठ अमेरिकी रक्षा अधिकारीले रुसले उक्त क्षेत्रमा रुसले गरेको विस्तारलाई खासै धेरै विस्तार नरहेको भनेका छन् । लुहान्स्क क्षेत्रका एकजना युक्रेनी नेताले त्यहाँ गम्भीर लडाइँ भइरहेको बताएका छन् ।
रुसले आक्रमण सुरु गरेको चार दिनपछि युक्रेनले गत फेब्रुअरीमा ईयूमा सामेल हुन आवेदन दिने प्रक्रिया सुरु गरेको थियो । ‘हामी सबैलाई राम्ररी थाहा छ [युक्रेनलाई] सामेल हुन अनुमति दिने प्रक्रियामा वास्तवमा धेरै वर्ष लाग्ने छ, सायद धेरै दशकहरू,’ माक्रोँले भने ।
‘यो तबसम्मको सत्य हो- जबसम्म हामीले यसमा सामेल हुने मापदण्डहरूलाई सहज बनाउँदैनौँ र युरोपेली एकतामा पुनर्विचार गर्दैनौँ।’
माक्रोँले युक्रेनको आवेदनलाई चाँडै टुङ्ग्याउनका लागि ईयूको सदस्यताका लागि तय गरिएका कडा मापदण्डहरूलाई निलम्बन गर्नुको सट्टा “समानान्तर युरोपियन कम्युनिटी”बारे विचार गर्नु पर्ने बताए ।
युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन्देर लाइनले जुनमा युक्रेनको सदस्यताका लागि ईयूको कार्यकारीले प्रारम्भिक राय प्रकाशित गर्ने घोषणा गरेपछि माक्रोँको उक्त भनाइ आएको हो । सोमबार किएभका अधिकारीहरूले युक्रेनले आफ्नो ईयू सदस्यता आवेदनको दोस्रो भाग ब्रसल्समा बुझाएको जनाएका छन् । बीबीसी
प्रतिक्रिया