आइतबार, जेठ ६, २०८१

सागकी स्वर्ण पदक विजेता स्व. सन्जुको अन्तिम श्रद्धान्जली

नेपालखोज २०७९ वैशाख २७ गते १६:०५

काठमाडौं । १३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्व. सन्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरिएको छ । स्व. चौधरीको शबमा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धान्जली अर्पण गरे ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली ब्यक्त गरे । यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले स्व. चौधरीको सवमा अविर तथा फुलमालाले श्रद्धान्जली ब्यक्त गरेका थिए ।

बर्दिया निवासी स्व. चौधरीको शब आजै उनको बासस्थान तर्फ लगिने संघले जनाएको छ । एसियन गेम्सको छनोटका लागि नेपालगन्जबाट काठमाडौं आएकी सञ्जु प्रशिक्षक महर्जनको घरमा बसेकी थिइन् । साढे दुई वर्षअघि नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद ९साग० मा सञ्जुले महिला ५९ किलो तौल समूहमा स्वर्ण जितेकी थिइन् । त्यसयता पनि उनले थुप्रै राष्ट्रिय कीर्तिमान बनाइन् ।

२०७३ मा सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा भारोत्तोलन खेलको नियम नजान्दा सञ्जु ‘डिसक्वालिफाइड’ भएकी थिइन् । त्यसपछि भने उनले पछाडि फर्केर हेर्नुपरेको थिएन । ०७४ मा सम्पन्न राखेप च्याम्पियनसिपमा सञ्जुले पहिलोपटक राष्ट्रियस्तरमा स्वर्णपदक जितिन् । सोही वर्ष उनले सुनीललाल जोशी स्मृति च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् । इन्टर क्लब नेसनल च्याम्पियनसिपमा पनि सञ्जुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

त्यसयता उनले प्रायःजसो प्रतियोगितामा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेकी थिइन् । हालै सम्पन्न एसियन गेम्सको छनोटमा पनि सञ्जुले ६५ किलो तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले स्न्याचतर्फ ७१ र क्लिन एन्ड जर्कमा ८७ किलो भार उचालेकी थिइन् ।

उनले सन् २०१८ मा उज्वेकिस्तानमा सम्पन्न एसियन युथ एन्ड जुनियर च्याम्पियनसिपमा तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । २०१८ मै इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा पनि सञ्जुले तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

प्रतिक्रिया