शुक्रबार, भदौ २८, २०८१

कांग्रेसले प्रचण्डका शाखा सन्तानलाई भोट हाल्नुपर्ने भयो : केपी ओली

नेपालखोज २०७९ वैशाख २७ गते १८:२०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दावी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले आफूहरु एमालेको जीतका लागि वैशाख ३० गतेको प्रतिक्षामा रहेको पनि बताए ।

उनले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्याधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गरे । उनले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने पनि दोहोर्‍याए । उनले भने, ‘हामीले जितको तयारी गरिसक्यौं । नेकपा एमालेका जित अनिवार्य छ । अवश्यमभावी छ । एमालेले अत्याधिक बहुमतका साथ जित्नुपर्छ । यो व्यक्तिहरुको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाई होईन । को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होइन् ।’

ओलीले स्थानीय तहको निर्वाचनले केन्द्रीय र प्रादेशीक सरकार हेरफेर नगर्ने भएपनि देशलाई कता लैजाने भन्ने फैसला गर्ने बताएका छन् । मंगलबार एमालेले काठमाडाैंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिमा अवरुद्ध स्थितिलाई तोडेर फेरि अगाडि बढाउन स्थानीय निर्वाचनले दिशा निर्देश गर्ने बताए ।

ओलीले नेपाली कांग्रेसका केही नेताले कार्यकर्तालाई चुनाव चिह्नविहीन बनाइदिएकोसमेत टिप्पणी गरे ।ओलीले अझै १५-२० वर्ष कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न नपाउने दाबी गरे । ओलीले भने, ‘कांग्रेसका कार्यकर्ताले कहाँ भोट हाल्ने भन्ने पनि थाहा हुन्न । चितवनमा गए एउटा,पोखरामा अर्को,दमकमा अर्को चिन्हमा हाल भन्छन् नेताहरू । अझ अस्ति सुन्नुभयो होला, चितवनमा एक जना नेताले मेरो छोरीलाई नजिताए देशलाई दुर्घटनामा गुल्टाउँछु, जितायौ भने म खुसी हुन्छ र अझै १५-२० वर्ष गठबन्धन लैजान्छु । उनकै शाखा सन्तानलाई भोट हाल्नुपर्ने भयो ।’

नेपाली कांग्रेसले चुनावमा जाने कुरालाई प्रतिगमन भनेर लोकतन्त्रको परिभाषा फेर्न खोजेको भन्दै ओलीले चुनाव हुन नदिने र अदालतबाट नियुक्ति पत्र लिने उल्टो बाटोमा कांग्रेस हिँडेको आरोप लगाए । ओलीले चुनावको पूर्व सन्ध्यामा धाँधली र सत्ताको दुरुपयोगको संकेतहरु देखिन थालेको भन्दै निष्पक्ष चुनाव गराउन निर्वाचन आयोगलाई आग्रह समेत गरेका छन् । उनले आफ्नो नेतृत्व सरकारले धरहरा बनाएकोमा विपक्षीले खिल्ली उडाएको भन्दै ट्वीनटावर र आइफील टावर हेरेर पनि नबुझेको बताए । उनले विपक्षीहरुमा ऐतिहासिक महत्त्वको संरक्षणमा रुची नभएको मात्र नभई वैरभाव छ भन्ने उनीहरुका बोलीचालीबाट प्रस्ट भएको बताए । ओलीले विपक्षीले विदेश गएर पाउरोटीमा जाम लाएर खानबाहेक केही नजानेको भन्दै आधुनिकता र विकासबारे के सिके ? भनेर प्रश्न गरे ।

उनले टुडो भाँचिएको हलो, टुडो भाँचिएको कलम बोकेर कांग्रेस हिँडेको बताए । उनले कांग्रेस सकिने बाटोमा हिँडेको टिप्पणी गर्दै कांग्रेसले लोकतन्त्रको परिभाषा नै फेर्न लागेको बताए ।​ ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामको चर्चा गर्दै कांग्रेस र अरु पार्टीले के गर्‍यौं र गर्छौ भन्ने कुरा नरहेको बताए । उनले भने, ‘उनीहरु जम्मा जम्मी एमालेको विरोध गर्छन् ।’

उनले राम्रा कामका लागि भन्दा पनि नराम्रा कामका लागि एकजुट भएको भन्दै उनले संसद विघटन गरेकोबारे प्रश्न उठाए । उनले कहिलेसम्म रोक्छौं जनताका बीचमा जान भनेर प्रश्न गरे । उनले भने, ‘पहिलो झड्का यही ३० गते खान्छन् यिनीहरुले । ठूलो ठक्कर खान्छन् । नसोचेको पराजय भोग्नुपर्नेछ । जनताले काला कर्तुत र गलत नियत देखेका छन् ।’

काठमाडौं महानगरपालिकाका एमालेका मेयरका उम्मेद्‍वार केशव स्थापितले आफूहरु विजयी हुने र एक वर्ष भित्रै काठमाडौंमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिए ।

कार्यक्रममा ओलीले नेकपा एकीकृत समाजवादीका सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गरेका थिएँ ।

प्रतिक्रिया