बुधबार, असोज २, २०८१

युक्रेनीले भक्कानिँदै भने- युद्धले हाम्रो सातो गयो

बाहिर आक्रमणको डर, घरभित्र पसे पुरिने डर

नेपालखोज २०७९ वैशाख २८ गते ११:४५

मस्को । रुसी सेनाले युक्रेनको गाउँगाउँमा पनि आक्रमण जारी राखेको छ । यस्तै युक्रेनको दक्षिणी गाउँ माइकोलाइभ यतिबेला युद्धको चपेटामा छ । यो गाउँमा रुसले मोर्टार आक्रमण जारी राखेको छ । युक्रेनी सेनाले पनि बंकरमा सुरक्षित हुँदै रुसी सेनालाई हतियार रूपी जवाफ दिइरहेका छन् । यो गाउँबाट रुसी सेनाको समूह ५ किलोमिटर टाढा बसेको छ । माइकोलाइभ गाउँ समुद्री किनारमा भएकाले रुसले यो जस्तै धेरै समूद्री किनारका गाउँ तथा नगर समेत कब्जा गर्ने रणनीति बनाएको बुझिएको छ ।

समुद्र किनारका सहर तथा गाउँ कब्जा गरेर युक्रेनलाई समुद्रको बाटो भएर कुनै पनि गतिविधि गर्न नदिने रुसको आशय रहेको बीबीसीको अध्ययनले देखाएको छ । क्षेप्यास्त्र पड्किए पनि ज्यानको पर्वाह नगरिकन धेरै स्थानीयबासी गाउँमै बसिरहेका छन । उनीहरू दिनरात डर र त्रासमा जीवन विताउन बाध्य छन् ।

समुद्र किनारमा बस्नेहरूले अन्त जाने ठाउँ नभएको जनाएका छन् । ‘हामी असाध्य डराएका छौं,अवस्था डरलाग्दो छ’, स्थानीयबासी गुनासो गर्छन् । जताततै आगो मात्रै देख्नु परेको उनीहरूको भनाई छ । एकजना स्थानीयबासी पत्रकारसँग कुराकानी गर्दै भन्छन्, ‘सवै कुरा जलिरहेको देखिन्छ, हाम्रो वरिपरि आगो नै आगो छ ।’

माइकोलाइभ गाउँका एक बासिन्दा भक्कानिदै भन्छन्, ‘हामी सवैको सातो गएको छ । रुसी सेनाले आक्रमण गर्दा कहाँ लुक्ने,कहाँ जाने भन्ने अन्यौलमा हुन्छौ, जस्तो अवस्था आए पनि सहनु परेको छ ।’ घर बाहिर झन् खतरा भएको र घरभित्र पसे पनि क्षेप्यास्त्र प्रहार गर्दा पुरिने स्थानीयबासीलाई डर छ ।

रुसी सेना दक्षिणी गाउँतिर अगाडि बढिरहँदा युक्रेनी सर्वसाधारण तथा सेनाले जोगिनका लागि खेतका बीचमा दिनरात नभनी ठूलाठूला खाल्डो खनेको भिडियो सार्वजनिक भएका छन् । आफूहरुमाथि आक्रमण नभएको कुनै दिन नभएको युक्रेनी सेनाको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ । शक्तिशाली हतियारले आक्रमणका गरिँदा धेरै गाउँ तथा सहरका घरहरु ध्वस्त भएका छन् ।

युक्रेनका कतिपय सहर र गाउँका घरहरुको छत तथा छानो नै देखिदैन । फेरि पुनर्निमाण गरेर बस्न नसकिने गरी घर तथा भवनहरू भत्किएका छन् । युद्ध सुरु भएदेखि युक्रेनका विद्यालय बन्द छन् । विद्यार्थीको भविष्य पनि अन्यौलमा छ । रुस र युक्रेनको युद्ध कसरी टुंगिने होला, त्यो भने भविष्यले देखाउने छ । तर युक्रेनी सर्वसाधारणको दर्दनाक तथा दुःखी अवस्थाको समाधानका लागि विश्वको ध्यान जानुपर्ने देखिएको छ ।

प्रतिक्रिया