शुक्रबार, भदौ २८, २०८१

प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक

नेपालखोज २०७९ वैशाख २९ गते १४:५५

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी आएको छ । आज नेपाल र भारत दुवै देशले यसबारे औपचारिक जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । मोदी आगामी सोमबार लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका हुन् ।

लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने पनि जनाइएको छ । मोदीले बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नेछन् । त्यसलगत्तै परराष्ट्र मन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेट गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा र मोदीबीच दुई पक्षीय औपचारिक वार्ता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले मोदी र भारतीय प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोजको पनि आयोजना गरेका छन् ।

प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । उनी प्रधानमन्त्रीको रुपमा पहिलोपटक सन् २०१४ मा नेपाल आएका थिए । लुम्बिनीमा भने भ्रमण गर्ने मोदी पहिलो भारती प्रधानमन्त्री हुनेछन् । उनी सोही दिन भारत फर्किने पनि जनाइएको छ । अहिले लुम्बिनीको सुरक्षा अवस्था मजबुद बनाइएको छ । हिजो (बुधबार) मात्रै भारतीय वायु सेवाको जहाज लुम्बिनी अवतरण भैसकेको छ। उक्त विमानमा भारतीय सुरक्षा अधिकारीहरू आएका थिए ।

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी २ जेठमा लुम्बिनीको औपचारिक भ्रमण गर्ने जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध पूर्णिमा पारेर मोदी नेपाल आउन लागेको विज्ञप्तिमा उल्लेख छ । उनले लुम्बिनी विकास कोषद्वारा आयोजित सभालाई समेत सम्बोधन गर्ने तय भएको छ ।

मोदीको भ्रमणले भारतको छिमेक प्रथमको नीति अनुसार दुई देशबीच उच्च तहको आवतजावतलाई निरन्तरता दिने भनिएको छ ।

प्रतिक्रिया