मंगलबार, वैशाख ४, २०८१

नेप्सेमा चुनावी प्रभाव : १८ अंकले गिरावट, दुई अर्ब ३२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ वैशाख २९ गते १५:४६

काठमाडौं । नेप्सेमा स्थानीय तहको चुनावको प्रभाव देखिएको छ । भोलि अर्थात वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । सोही कारण पनि हुन सक्छ अघिल्लो चार दिन लगातार बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने घटेको छ ।

अघिल्लो दिन ५६ दशमलव छ अंकले बढेको नेप्से आज १८ दशमलव ६४ अंकले घटेर २३ सय ५० दशमलव ४२ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव सात अंकले घटेर चार सय ५३ दशमलव ९६ अंकमा झरेको छ । दुई सय २८ वटा कम्पनीहरुको ४० हजार २३ पटकको कारोबारमा ५२ लाख २७ हजार तीन सय ५९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार दुई सय ७३ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज उत्पादनमुलक र अन्य समूहको सूचक सामान्य अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ७३ अंकले घटेर १५ सय ९१ दशमलव १५ अंकमा झर्दा विकास बैंक समूहको सूचक पनि ८९ दशमलव दुई अंकले घटेर चार हजार ७९ दशमलव ८७ अंकमा पुगेको छ ।

जलबिद्युत् समूहको सूचक पनि ५३ दशमलव ७२ अंकले घटेर २७ सय एक दशमलव ३२ अंकमा झर्दा निर्जिवन बिमा समूहको सूचक पनि ८३ दशमलव ३८ अंकले घटेर १० हजार तीन सय ५८ दशमलव ३४ अंकमा झरेको छ । जीवन बिमा समुहको सूचक पनि दुई सय ५७ दशमलव १४ अंकले घटेर ११ हजार आठ सय ९७ दशमलव ६८ अंकमा झर्दा फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक भने घटेका छन् ।

नेप्सेमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर २४ सय ४८ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर १२ सय ३६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

त्यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता नौं सय १५ रुपैयाँ अन्तिम मूल्यमा नौं ११ करोड १० लाख ६७ हजार चार सय १८ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया