मौन अवधिकै बीचमा बोले बालेन : अन्य उम्मेद्वारलाई समर्थन गरेको हल्लामा आपत्ति
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफू कुनै पार्टीमा प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला चलाइएको गुनासो गरेका छन् । मौन अवधिकै बीचमा विज्ञप्ति निकाल्दै उनले आफू कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला फैलाइएकोमा आपत्ति जनाएका छन् ।
बालेनले मौन अवधिमा कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुँदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरूमाथिको अन्याय भएको जिकिर गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरू फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौं । हामी स्वतन्त्र छौं । र, मौन अवधिपूर्व हामी मतदाताहरूको ‘घरदैलोमा प्रवेश’ गर्ने र हाम्रा मतदाताहरूको नै समर्थन लिनेदिने बाहेक अरू कुनै किसिमका व्यवहारहरू गरेका छैनौं ।
निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ हुन्छ, उम्मेदवारहरूले आफ्ना मतदाताहरूलाई भन्ने जति भनिसक्ने र मतदाताहरू स्वयंले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने उनले बताए । उनले सही उम्मेदवारलाई मतदान गर्न सक्नु नै लोकतन्त्रको उत्तम तरिका रहेको बताए । उनले भने, ‘मतदाताहरूलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज हो । यस्ता हल्ला र हल्ला फैलाउने तत्त्वहरूप्रति सरकार, निर्वाचन आयोग र स्वयं मतदाताहरू सजग रहन हार्दिक अपिल गर्दछौं ।’
आफू स्वतन्त्र रहेको भन्दै उनले मौन अवधिपूर्व मतदाताको घरदैलोमा प्रवेश गर्ने र मतदाताको समर्थन लिनेबाहेक अरु कुनै व्यवहार नगरेको स्पष्ट पारेका छन् । उनले भने, ‘निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ हुन्छ, उम्मेदवारहरुले आफ्ना मतदाताहरुलाई भन्ने जति भनिसक्ने र मतदाताहरु स्वयमले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने । यसले सही उम्मेदवारलाई मतदान गर्न सक्नु हुनेछ । लोकतन्त्रको यो उत्तम तरिका हो ।’
प्रतिक्रिया