शुक्रबार, भदौ २८, २०८१

६५ देखि ७२ प्रतिशतसम्म मतदान भएको आकलन

नेपालखोज २०७९ वैशाख ३० गते १८:१७

काठमाडौ । आज देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो । छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।

वर्षालगायत अन्य कारणले कतिपय स्थानमा मतदान प्रभावित भएको थियो । समग्रमा देशैभर कति प्रतिशत मत खस्यो भन्ने आयोगले सार्वजनिक गरिसकेको छैन । तर, ६५ देखि ७२ प्रतिशतसम्म मतदान भएको हुन सक्ने आकलन गरिएको छ । निर्वाचनले देशभरमा ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्नेछ । जसमध्ये ३ सय ९० जना भने निर्विरोध निर्वाचित भैसकेका छन् ।

विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी १ लाख ४५ हजार ११ जना उम्मेदवारले विभिन्न पदमा प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरेकामा ३५ हजार २ सय २१ जना निर्वाचित हुँदा बाँकी भने पराजित हुन पुग्नेछन् ।

७५३ स्थानीय तहमा महानगर पालिकाको संख्या ६,उपमहानगर पालिकाको संख्या ११,नगरपालिकाको संख्या २७६ र गाउँ पालिकाको संख्या ४६० रहेको छ।

प्रतिक्रिया