न्युयोर्कको एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु
काठमाडाैं । अमेरिकाको न्यूयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । प्रहरीले उक्त घटनालाई जातीय रूपमा प्रेरित घृणायुक्त अपराधको रूपमा अनुसन्धान भइरहेको जनाएको छ ।
बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ । प्रहरीले उनको नाम खुलाएको छैन । ती सन्दिग्ध व्यक्तिले शनिबार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएका थिए ।
प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न क्यामराको प्रयोग गरेका थिए । संघीय अनुसन्धान ब्यूरो एफबीआईले उक्त हमलालाई ‘हिंसक अतिवादी कृत्य’ को संज्ञा दिएको छ ।
पत्रकार सम्मेलनमा एफबीआईको बफलो कार्यालयका प्रमुख स्टीभन बेलोङ्गियाले भने, ‘हामीले यस घटनालाई घृणा फैलाउने अपराध र जातीय रूपले प्रेरित हिंसक अतिवादजस्ता दुवै पक्षबाट अनुसन्धान गरिरहेका छौँ।’
ती सन्दिग्ध कैयौँ घण्टा सवारी चलाएर उक्त सहरस्थित अश्वेत समुदायको बाहुल्य रहेको क्षेत्रमा पुगेका थिए । कुल १३ जनालाई गोली लागेकोमा अधिकांश व्यक्ति अश्वेत समुदायका भएको बफलोका प्रहरी प्रमुखले बताएका छन् ।
घाइते भएका तीन जना पनि सुपरमार्केटका कर्मचारी हुन् । यद्यपि उनीहरूलाई ज्यान जोखिम पर्ने खालको गम्भीर चोट लागेको छैन । बीबीसी
प्रतिक्रिया