शनिबार, जेठ ५, २०८१

वरिष्ठ नर्स विमला श्रेष्ठलाई नाइटिङगल नर्सिङ अवार्ड २०७७ प्रदान

नेपालखोज २०७९ जेठ १ गते १८:२५

काठमाडौं । तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स विमला श्रेष्ठ नाइटिङगल नर्सिङ अवार्ड २०७७ बाट सम्मानित भएकी छन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेसनल प्रा.लि., एनसिसिडिएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्विसेसले संयुक्त रूपमा वरिष्ठ नर्स श्रेष्ठलाई ५० हजार एक रुपैयाँ नगद पुरस्कार सहित नर्सिङ अवार्ड २०७७ बाट सम्मान गरेको हो । यी संस्थाले हरेक वर्ष नर्सिङ दिवसको अवसर पारेर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् । पहिलो पटक श्रेष्ठलाई यस किसिमको अवार्ड प्रदान गरिएको हो ।

आइतबार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरिन् । सम्मान प्राप्त गर्ने वरिष्ठ नर्स श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि अनवरत रूपमा नर्सिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएकी छन् । हाल उनी त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जमा नर्सिङ प्रमुख, आईसीयू विभागमा कार्यरत छिन् ।

कार्यक्रममा जनस्वास्थ्य अभियन्ता राधा पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा नर्सहरूको योगदान निकै ठूलो रहेको बताउँदै यस किसिमको सम्मानले सम्पूर्ण नर्सहरूलाई आफ्नो कार्यक्षेत्रमा अझ बढि हौसला प्रदान हुने बताईन । यस्तै स्वास्थ्य मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख बाला राई, मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की, रजिस्ट्रार प्रमिला देवानले कोभिड महामारीका बेला नर्सहरूको योगदान निकै ठूलो रहेको स्मरण गर्दै यस किमिको सम्मानले उनीहरूलाई कार्यक्षेत्रमा अझ धेरै जिम्मेवार बनाउने उल्लेख गरिन् ।

यस्तै सम्मान ग्रहण गर्दै वरिष्ठ नर्स श्रेष्ठले आफू अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताइन् । उनले सम्मानबापत पाएको एक लाख रूपैयाँ आईसीयूमा उपचारार्थ गरिब बिरामीहरूलाई प्रदान गर्ने घोषणा गरिन् । कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ क्षेत्रका विभिन्न व्यक्तिको उपस्थिति थियो ।

१२ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । एनसिसिडिएफले सघन चिकित्सालाई सर्वसुलभ बनाउन देशव्यापी रूपमा कार्यशाला, गोष्ठी, तालिम सञ्चालन गर्दै आएको छ । यस्तै नेपाल भेन्टिलेटर्स सर्विसेसले नेपालमा सघन चिकित्साका उपकरणहरूलाई सहजै उपलब्ध गराउँछ । यस संस्थाले कोभिडका बेला स्थापना भइ भेन्टिलेटर लगायतका सघन उपचारका उपकरण प्रदान गर्दै आएको छ । क्रिटिकल केयर एशोसिएट्स चिकित्सकहरूको समूहले सञ्चालन गरेको नयाँ कम्पनी हो, जसले सघन चिकित्साको पहुँचलाई सर्वसुलभ बनाउने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया