वीरेन्द्रनगरको मेयरमा कांग्रेसलाई पछ्याउँदै एमाले, खड्का ३१० मतान्तरले अगाडि
सुर्खेत । सुर्खेतका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व कसको हुने हो भन्ने सुर्खेत मात्रै नभइ कर्णाली प्रदेशका बासिन्दाकै चासो छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट मेयर पदका उम्मेद्वार उपेन्द्रबहादुर खड्काले ६,९९८ मत प्राप्त गरेका छन् । खड्का गठबन्धनको सहयोगमा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्वार हुन् ।
खड्कालाई एमालेकी मोहनमाया ढकालले पछ्याइरहेकी छन् । उनले यो समाचार तयार पार्दासम्म ६,६८८ मत प्राप्त गरेकी छन् । उपेन्द्रबहादुर ३१० मतान्तरले अगाडि छन् । यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले २,५३७ मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीकी मेयर पदकी उम्मेद्वार धनकुमारी जीसीले ९० मत प्राप्त गरेकी छन् ।
यस्तै उपमेयरमा एमालेका उम्मेद्वार नीलकण्ठ खनाल अग्रस्थानमा छन् । उनले ८,३३२ मत प्राप्त गरेका छन् । माओवादीबाट उपमेयर पदकी उम्मेद्वार शान्ति ढकालले ५,२३२ मत प्राप्त गरेकी छन् । उपमेयरमा राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ९५० मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा स्वतन्त्रबाट अनिल ढकालले २८९ र नेकपा एसका वीरबहादुर राउतले १८३ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १ को अन्तिम मतपरिणाममा भने नेपाली कांग्रेसका दिनेश खत्री ४१ मतले विजयी भएका छन् भने अन्य सदस्यमा एमालेका उम्मेद्वार विजयी भए । यस्तै वडा नम्बर २ मा एमालेका गजबहादुर बुढा प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ३ एमालेका विनोद विष्ट अध्यक्षमा निर्वाचित भएका छन् भने सदस्यमा कांग्रेसका उम्मेदवारहरु विजयी भए । यसैगरी, वडा नम्बर १५ को अध्यक्षमा कांग्रेसका कृष्णबहादुर थापा मगर प्यानलैसहित विजयी भएका छन् । वडा १४ मा भने नेकपा एमालेका देवबहादुर रोकाया प्यानलसहित विजयी भएका छन् ।
प्रतिक्रिया