शुक्रबार, वैशाख १४, २०८१

नेपाली राजनीतिको यथार्थ, उहिले र अहिले !

टंक कार्की २०७९ जेठ ३ गते १७:१७

मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर १. नेपाल निरंकुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिक/संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा संक्रमण हुँदै थियो, र २. सोभियत संघ र पूर्वी युरोपमा ‘समाजवाद’को पतन भइरहेको र यसर्थ, दुई ध्रुवीय विश्व संरचनामा एउटा ध्रुव पछि धकेलिएको अवस्था थियो । कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्था धकेलिएको थियो ।

मुलुकभित्रको त्रि-शक्ति सन्तुलनको (राजतन्त्र, काङ्ग्रेस र वामपन्थी) एउटा पक्षको हैसियतमा नेपाली कम्युनिस्ट आन्दोलनले लिने दिशा तरवारको धारमा हिँड्नुजत्तिकै जोखिमपूर्ण थियो । मुलुकमा भरखरै स्थापित पुँजीवादी प्रजातन्त्रको उपयुक्त स्वरुपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्य दिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्त्वको काम थियो । यो संगीन घडी थियो र यहाँ दुइटा उत्ताउला काम हुन सक्थे, मार्क्सवादी साहित्यमा भनिने गरिएका दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव । (यी दुइटैले ल्याउने त विसर्जन नै हो ।) दक्षिणपन्थी अवसरवादले सामाजिक क्रान्तिको सामाजिक मिशन बिर्सने र सत्ताको शान र सुविधामा हेलिन जोड दिन्थ्यो भने उग्र वामपन्थी भडकावले ‘निरन्तर क्रान्ति’को नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरी लगाउने र त्यहीअनुरुपको चर्तिकला देखाउँथ्यो । मिसनमा प्रतिबद्ध शक्तिको जिम्मेवार विकल्पचाहिँ यी दुइटै अतिबाट बच्नु हुन्थ्यो ।

मदन भण्डारीले भने बिनालक्कनछप्पन व्यवहारिक सोचको अगुवाइ गरे । पुँजीवादी प्रजातन्त्रका ‘रुप पक्ष’लाई ‘क्रान्तिकारी सार’मा कलमी गरे । बहुदलीय प्रणाली, आवधिक निर्वाचन, बहुमतको शासन र अल्पमतको विपक्ष, कानुनी शासन, मानवअधिकार, शक्तिको पृथकीकरणजस्ता विषयलाई ‘क्रान्तिकारी जनसत्ता, मिश्रित अर्थतन्त्र (निजी क्षेत्रको भूमिकालाई रणनीतिक अर्थमै लामो समयसम्म स्विकारेर स्थान दिनु, राज्य क्षेत्रलाई स्वच्छ र प्रभावकारी बनाउनु तथा सहकारी क्षेत्रलाई जनस्तरबाट बिस्तार गर्दै लानु) र आधुनिक संस्कृति’ निर्माणमा सजाए । त्यसलाई उनले ‘जनताको बहुदलीय जनवाद’मा लिपिबद्ध गरे । तर त्यसपछि उनले त्यति मौकै पाएनन् । पार्टीका अर्का नेता जीवराज आश्रितसहित उनको रहस्यपूर्ण हत्या गरियो । त्यसपछिका तीन दशक गुज्रेका छन् ।

मदनको अवसानपछि मदनले कोरेको लक्ष्मण रेखामा कम्युनिस्ट आन्दोलन टिक्न सकेन । यो दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकावको तानातानमा पर्यो । दक्षिणपन्थी अवसरवादी विचलनले उग्र वामपन्थी भडकावको निम्ति बारुद तयार गरिदियो भने उग्र वामपन्थी भडकावले दक्षिणपन्थी अवसरवादी विचलनलाई खोर बाख्री खोर गर्यो ।

हो, पुँजीवादी प्रजातन्त्रलाई ‘धोखाधडीको उपकरण’को रुपमा प्रयोग गरिदै आएको इतिहास छ । त्यसैमा हेलिनु र चुनाव देखि चुनावसम्म सीमित हुनु हुँदैनथ्यो । यो पनि क्रमश: हुँदै गयो । तर के त्यतिकै भरमा यसलाई अस्वीकार गर्नु युक्तिसंगत हुन्थ्यो ? हुनु हुँदैनथ्यो । त्यसलाई पनि ‘मुक्तिको उपकरण’का रुपमा ग्रहण गर्न मार्क्सवादले वर्जित गर्दैनथ्यो । ( Introduction to Marx’s Class Struggles in France by Frederic Engels र Preamble of the Programme of the French Workers’ Party written by K. Marx हेरे हुन्छ ।) तर यही आन्दोलनभित्रको अर्को धारा सुरुमा अनकनाउँदै स्वीकारेको भए पनि अलिक पछि यसलाई अस्वीकार गर्दै जनयुद्धमा होमियो । लोकतान्त्रिक गणतन्त्रको स्थापनापछाडि पनि एउटा पक्ष त आज पनि बहिष्कारको पैरवी गर्दै छ ।

मदन भण्डारीलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुयायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरे । देख्नलाई तिनको ‘देवपूजन’ त देखिन्छ तर ‘उनको आत्मा’ कहिले पोलेर खाए, खाए ! यो त्यतिबेलैदेखि सुरु भयो जब तिनले उनको ‘बहुदलीय जनवाद’को ‘रुप पक्ष’लाई सिद्धान्तको सार र शाश्वत पक्ष भनेर भाष्य बाढ्न थाले । अर्को दुखद पक्ष यसबीचमा उग्र वामपन्थी भड्कावले पनि सम्यक पाठ सिक्न सकेन । सुखद कुरा, यस आन्दोलनका दुई ठूला धार एमाले र माओवादी एकीकृत भ’का पनि हुन् । त्यसले यस वामपन्थी आन्दोलनालाई मुलुकको राजनीतिक शक्ति सन्तुलनमा सर्वाधिक शक्तिशाली शक्तिका रुपमा स्थापित पनि गर्यो । तर त्यस एकताले अल्पायुमै मृत्युवरण गर्नुपर्यो । नेतृत्वमा रहेको स्वेच्छाचारिता, महत्त्वाकांक्षा र कुन्ठाले, उसमाथि अरुको उलामालाले हुनुहार गर्यो- आन्दोलन आफैंले भने खुम्चिनुपर्यो, शक्ति सन्तुलन आफ्नो विपक्षमा फेरियो । आन्दोलनले धक्का खायो, भित्री-बाहिरी शक्तिलाई खुँदो पल्टियो, राजनीतिक अस्थिरता बढायो र मुलुकलाई अनिश्चयको गर्तमा धकेली दियो । यो सब यस आन्दोलनभित्र आफ्नो सामाजिक मिसन र ध्येयसँग मेल न खाने संगठनात्मक प्राणालीको संरचना, संस्था र विधिप्रणालीले निम्त्याएको करामत हो । यस प्रणालीले निस्कन्टक अधिनायक बन्ने र विभाजनकारी प्रतिवादको अन्तरविरोध पुरुत्पादन गरिरहन्छ । यो प्रणाली नै दक्षिणपन्थी अवसरवाद र उग्र वामपन्थी भड्कावको मुहान हो ।

फेरि पनि यस आन्दोलनको सामाजिक आधार बलियो छ । अहिले यो आफै‌भित्र भने उद्विग्न र उद्वेलित छ- कहाँ गल्ती भयो, कसरी सच्चिने र कसरी पुनर्जीवन प्राप्त गर्ने ? त्यसका निम्ति सम्यक ‘प्रज्ञा’ र सम्यक ‘साधना’ चाहिन्छ ।

व्यक्तिवादी अधिनायकवादी संरचनाका ठाउँमा सामूहिक नेतृत्व र सामूहिक सुझबुझमा चल्ने र संस्थागत विधिको ‘धर्म’ अनुसरण गर्ने लोकतान्त्रिक संरचनाको पुन:स्थापना पहिलो सर्त हो । विगत ७२ वर्षभित्र यस आन्दोलनले हासिल गरेका राम्रा उपलब्धि र यसबीचमा देखापरेका कमजोरी र विसंगतिको सघन आत्मसमीक्षा तलैदेखि हुनु जरुरी छ ।

विभाजित तथा छितरिएको यस आन्दोलनको पुन:एकीकरण, व्यक्ति विशेषका निर्घिणी स्वार्थ्यहरुको समायोजनबाट होइन आदोलनको ध्येय र मिसनको हितसँग गासिएको एकता यस आन्दोलनको पुनर्जीवनका निम्ति उत्तिकै जरुरी छ । भित्री-बाहिरी चुनौतीसँग जुझ्न र लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय हितको संरक्षण र सामाजिक न्यायको प्रवर्द्धनका निम्ति पनि यसको पुन:एकीकरण अरु कुनै बेलाको भन्दा जरुरी छ । अहिले यस आन्दोलनलाई नेतृत्वका बफादार चेलाभन्दा शत-अशत छुट्याउने आलोचनात्मक चेत भएका सामाजिक मिसनका निष्ठावान् नेता/कार्यकर्ताको हस्तक्षेप जरुरी छ । चुनौती जो छ लरतरो छैन ।
मदन भण्डारीको स्मृति यसर्थ पनि विशेष अर्थ राख्दछ ।

प्रतिक्रिया