बुधबार, असोज २, २०८१

एमालेको अवरोधका बीच राष्ट्रियसभा सञ्चालन

नेपालखोज २०७९ जेठ ३ गते १७:४५

काठमाडौं । नेकपा (एमाले)को विरोधका बीच राष्ट्रियसभाको बैठक सञ्चालन गरिएको छ । बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदहरुले आसन ग्रहण नगरी बैठकमा विरोध जनाएपछि मौनधारणा लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए ।

सांसद दाहालले अघिल्लो अधिवेशन देखिनै आफूहरुले उठाउँदै आएको माग पूरा नभएको भन्दै यस अधिवेशनमा पनि आफूहरुको विरोध जारी नै रहेको सदनमा जानकारी गराए। उनले सरकारले सदन सञ्चालनमा रुची नदेखाएको आरोप लगाउँदै विगतमा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाहीको सूचना प्रकाशित गर्नुपर्ने माग कायमै हुँदा सदनको अवरोध जारी नै रहेको जानकारी गराएका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पटकपटकको आग्रहपछि पनि एमालेका सांसदहरुले उभिएर विरोध नै जनाइरहेपछि उनले कार्यसूचीलाई अघि बढाए । राष्ट्रियसभाको आजको बैठकको लोकतन्त्र र गणतन्त्र प्राप्तिका निम्ति ज्यान उत्सर्ग गर्ने ज्ञान अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।-रासस

प्रतिक्रिया