बिहीबार, चैत १५, २०८०

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपालखोज २०७९ जेठ ५ गते १४:०४

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च वृद्घि गरेको छ । गत वैशाखमा नेपालका २७ वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिका आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।

गत वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३१ दशमलव ९८ प्रतिशतले वृद्घि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरुमध्य १९ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्घि भएको छ भने आठ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ ।

वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्घिदर ६ दशमलव २३ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्घि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७ दशमलव ४३ प्रतिशतले वृद्घि भएको देखिन्छ । बैशाख मसान्तसम्मा वाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयां पुगेको छ भने कुल कर्जा प्रबाह ४१ खर्ब ९१ अर्ब रुपैयां पुगेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १८ वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सिमाभित्र नै (८९ दशमलव ६५ प्रतिशत) रहेको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९० दशमलव ८८ प्रतिशत रहेको छ ।

देशभर दुई सय १३ शाखा, एक सय ७० वटा एटीएम साथै ४७ एक्स्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा उच्च व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ ।

प्रतिक्रिया