युरोपमा महिला नेतृहरुको बोलबाला
काठमाडौं । एलिजाबेथ बोर्न फ्रान्सको प्रधानमन्त्री हुनुअघि युरोपमा करिब एक दर्जन महिला नेतृ आ-आफ्नो देशको शक्तिशाली पदमा आसिन भइसकेका छन् । अहिले युरोपेली देशका प्रधानमन्त्री, राष्ट्रपतिलगायत अन्य महत्त्वपूर्ण पदमा महिलाहरुकै बोलबाला छ भन्दा हुन्छ ।
६१ वर्षीया एलिजाबेथ बोर्न पेसाले इन्जिनियर हुन् भने फ्रान्समा प्रधानमन्त्री हुने दोस्रो महिला । एडिथ क्रेसन फ्रान्सको प्रधानमन्त्री हुने पहिलो महिला थिइन् । उनी १९९० को दशकको सुरुवाती समयमा एक वर्षभन्दा कम समय प्रधानमन्त्री पदमा रहिन् ।
उर्सुला फोन डेय लायन २०१९ को डिसेम्बरमा युरोपेली आयोगको पहिलो महिला अध्यक्ष भएकी थिइन् । त्यसअघि उनी जर्मनीको रक्षामन्त्री थिइन् । मेटे फ्रेडेरिक्सन जुन २०१९ मा ४१ वर्षको उमेरमै डेनमार्कको प्रधानमन्त्री चुनिएकी हुन् ।
डेनमार्कको प्रथम महिला प्रधानमन्त्री भने हेले थोर्निङ-स्मिथ हुन् जसको कार्यकाल २०११ देखि २०१५ सम्म रह्यो ।
५२ वर्षकी किर्स्टी कल्युलाइड अक्टोबर २०१६ मा एस्टोनियाको पहिलो महिला राष्ट्रपती भएकी थिइन् भने जनवरी २०२१ मा काजा कल्लास एस्टोनियाको पहिलो महिला प्रधानमन्त्री भइन् ।
डिसेम्बर २०१९ मा सना मरिन ३४ वर्षको उमेरमै फिनल्यान्डको प्रधानमन्त्री नियुक्त भइन् भने उनी संसारकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री पनि बनिन् । सना फिनल्यान्डको प्रधानमन्त्री हुने तेस्रो महिला हुन् ।
पेसाले अधिवक्ता कटरिना सकेलारोपोलु जनवरी २०२० मा ग्रिसको राष्ट्रपति हुने पहिलो महिला भइन् । सकेलारोपोलु त्यस अघि २०१८ मा ग्रिसको सुप्रिम कोर्टको अध्यक्ष थिइन् ।
क्याटलिन नोवाक मार्च २०२२ मा हंगेरीको राष्ट्रपति बन्ने पहिलो महिला भएकी हुन् । त्यस अघि उनी देशको परिवार नीति मन्त्री थिइन् ।
४७ वर्षकी साल इंग्रिडा सिमोनिते डिसेम्बर २०२० मा लिथुवानियाको प्रधानमन्त्री भएकी हुन् । उनले आफ्नो देशको अर्थ मन्त्रालय पनि सम्हालिसकेकी छिन् । लिथुवानियामा महिला नेताहरुको मजबुत परम्परा छ । बाल्टिक क्षेत्रमा आयरन लेडीका नामले समेत परिचित डालिया ग्राईबाउसकाइट २००९ देखि २०१९ सम्म लिथुवानियाको राष्ट्रपति थिइन् ।
४८ वर्षकी जुजाना कपुतोवा जुन २०१९ मा स्लोभाकियाको पहिलो महिला राष्ट्रपति भइन् । राजनीतिमा नयाँ भए पनि उनले चुनावमा ठूलो जित हासिल गरेकि थिइन् ।
म्यागडालेना एन्डरसन नोभेम्बर २०२१ मा स्विडेनको प्रधानमन्त्री निर्वाचित हुने पहिलो महिला भइन् । उनी त्यसअघि अर्थमन्त्री थिइन् । प्रधानमन्त्री भएलगत्तै संसदले उनको सरकारको बजेट अस्वीकार गरेपछि म्यागडालेनाले राजीनामा दिइन् भने चार दिनपछि नै उनी फेरि प्रधानमन्त्री चुनिइन् ।
युरोपमा युरोपेली युनियन बाहिरको जर्जियामा सलोम जुराविसविलीले राष्ट्रपतिको पद सम्हालिरहेकी छन् भने आइसल्यान्डमा क्याटरिन जेकब्सडोत्तिर प्रधानमन्त्री छन् । यसैगरी कोसोभोमा व्योसा ओस्मानी तथा माल्दोभामा माइआ सन्दु राष्ट्रपति एवं नतालया गावृलिता प्रधानमन्त्री छन् । यता नर्वेमा एरना सोलबर्ग तथा स्कटल्यान्डमा निकोला स्टर्जनले प्रधानमन्त्रीका रुपमा देशलाई नेतृत्व प्रदान गरिरहेका छन् ।
-एएफपीको सहयोगमा
प्रतिक्रिया