आइतबार, भदौ ३०, २०८१

महानगर र उपमहानगरमा स्वतन्त्र उम्मेद्‌वारको क्रेज : किन रुचाए जनताले ?

केशव भट्टराई २०७९ जेठ ८ गते २१:२३

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मत परिणामअनुसार केही फरक स्वतन्त्र उम्मे्वारले जित हासिल गरेका छन् । जारी मतगणनाअनुसार केही अग्रस्थानमा पनि छन् । देशका स्थानीय तहमा स्वतन्त्र उठेका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई मतदाताले रुचाएका छन् । जिताएका छन् । स्वतन्त्र उम्मेद्वारको रूपमा अग्रता कायम गर्ने र जित हासिल गर्नेमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रमुखको उम्मेद्वारसम्म छन् ।

चुनाव जितेर गएका दलका नेताहरू स्वार्थमा केन्द्रित भएपछि त्यसको असर सम्बन्धित दलहरुलाई नै परेको छ । जनताले भने केही नयाँ गर्न चाहने स्वतन्त्र उम्मेद्वारलाई मन पराएर भोट दिएका छन् । पछिल्लो मतपरिणामअनुसार महत्त्वपूर्ण नगरमा स्वतन्त्र उम्मेद्वारलाई धेरै जनताले भोट दिएका छन् । जारी मतगण्नाअनुसार केहीले जितेका छन्, केही अग्रता लिँदैछन् भने केहीले हारे पनि सम्मानजनक मत ल्याएका छन् ।

आसेपासेलाई जसरी पनि टिकट दिनैपर्ने पार्टीको सोचलाई जनताले मतदानबाट गतिलै झापड दिएका छन् । उचित लागेको व्यक्ति पार्टीको बागी उम्मेद्वार भएपनि पनि जनताले यसपालीको चुनावमा जिताएका छन् । देशकै केन्द्रभूमी काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र साह अगाडि छन् । उनी प्रमुख दलका चर्चित नेताभन्दा हजारौं मतको अन्तरमा अगाडि छन् । अहिलेसम्मको मतपरिणाम हेर्दा बालेन्द्रले जित्ने सम्भावना रहेको आकलन गरिएको छ ।

यस्तै, देशका विभिन्न उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेद्वारको अग्रता तथा जित नै देखिएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाल विजयी भएका छन् । उनी दलका नेताभन्दा झण्डै दोब्बर मत ल्याएर विजयी भएका हुन् । हमालले २६,८६५ मत ल्याएर जित हासिल गरेका छन् । उनलाई पछ्याएका कांग्रेसका नृपबहादुर बडले १४,८१७ मत मात्रै ल्याए ।

उता सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार हर्कराज राई विजयी भएका छन् । उनी १४,१८३ मत ल्याउँदै विजयी भएका हुन् । गठबन्धनबाट नेपाली कांग्रेसका किशोर राईले दोस्रोबढी भोट ल्याएका छन् । किशोरले ११,९९८ मत प्राप्त गरे । यस्तै पूर्व उपमेयर एवं एमालेकी मन्जु भण्डारीले ९,७३५ मत ल्याएकी छन् ।

उता जनकपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साहको अग्रता कायमै छ । यो समाचार तयार पार्दा उनी एमालेका शिवशंकर साहभन्दा निकै मतान्तरमा अगाडि देखिन्छन् । यस्तै मेयर पदमै लोसपाका मनोज चौधरी र जनता समाजवादी पार्टीका लालकिशोर साहले पनि स्वतन्त्र उम्मेद्वार मनोजकुमारको भन्दा धेरै कम मत पाएका छन् ।

महानगर र उपमहानगरपालिकाको मतपरिणामको यो दृष्टान्तबाट प्रष्ट हुन्छ कि देशमा जनताले केही नयाँ सोच भएका र विकासप्रेमी नेतालाई रोज्दैछन् । जनताको मन जित्ने हो भने राजनीतिक दलका नेताहरु जनताको भावना बुझ्दै निस्वार्थ भइ विकासको काममा लाग्नुपर्ने देखिन्छ । होइन भने, आगामी निर्वाचनमा पनि धेरै विकासप्रेमी स्वतन्त्र उम्मेद्वार उदाउनेछन् । चुनाव जितेर गएका नेताहरू स्वार्थ केन्द्रित भए, वर्तमान राजनीतिक दलहरू विलयको अवस्थामा पुग्न समय लाग्ने छैन ।

प्रतिक्रिया