आइतबार, भदौ ३०, २०८१

८ निर्णय गर्दै नेपालगन्जका मेयर विष्टले सम्हाले कार्यभार

नेपालखोज २०७९ जेठ ८ गते १५:३०

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर प्रशान्त विष्टले आइतबार पदभार ग्रहणसँगै आठ वटा कामहरू गर्ने निर्णय गरेका छन् । उनले उपमहानगरपालिकाको कार्यालयमा असक्त, ज्येष्ठ नागरिक र अपांगता भएका सेवाग्राहीलाई सेवा लिन सहज बनाउन अपांगमैत्री कार्यालय भवन बनाउने पहिलो निर्णय गरेका छन् ।

यस्तै भेरी अस्पताल परिसरमा रही विरामी र कुरुवालाई खाना व्यवस्थापन गर्दै आएको अन्जली माता रसोई घरलाई प्रत्येक महिना ५० हजार रुपैयाँ दिइँदै आएकोमा आगामी आर्थिक वर्षदेखि एकलाख रुपैयाँ दिइने निर्णय गरेका छन् ।

बैंकहरूसँग सहकार्य गरी घुम्ति सेवा सन्चालनमार्फत समाजिक सुरक्षा भत्ता वितरण सहज बनाउने, ‘ग’ तथा ‘घ’ वर्गका अपांगता भएका व्यक्तिलाई सम्वन्धित वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, नगरका कृषकलाई अनिवार्य पशुबिमा गराउन जोड दिने र कृषकले वेहोर्दै आएको पशु बिमाको रकम नगरपालिकाले व्यवस्थापन गर्न आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा समावेश निर्णय गरेका छन् ।

यसैगरी, दैनिकरूपमा घर, पसल तथा उद्योगबाट निस्किने फोहोरलाई वर्गीकरण गरी फोहोर संकलनका लागि आवाश्यक सामग्री उपमहानगरपालिकाले उपलब्ध गराउने भएको छ । यस्तै, सामुदायिक विद्यालयतर्फ प्रावि तहमा स्थानीय भाषामा पठनपाठनको सुरुवात गर्न स्थानीय भाषामा पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गराउने र नगरभित्रको सम्पूर्ण ढल तथा नालाको सरसफाइको काम तत्काल अघि बढाइने निर्णय गरेको नवनिर्वाचित मेयर विष्टले जनाएका छन् ।

प्रतिक्रिया