शुक्रबार, वैशाख १४, २०८१

यसरी असुल्छन् स्थानीय निकायका कर्मचारी दस्तुरभन्दा बढी रकम (भिडियोसहित )

नेपालखोज २०७९ जेठ १० गते १२:०२

मेलम्ची । स्थानीय तह भनेको सर्वसाधारणका लागि सहज किसिमले सेवा प्रदान गर्ने निकाय हो । स्थानीय तहका कर्मचारीले सहज किसिमले सेवाग्राही काम गरिदिनुपर्छ । सरकारले पनि ‘भ्रष्टाचारमा लिप्प हुन्न’ भन्ने कसम खुवाउँदै नियुक्ति दिएको हुन्छ । तर तिनै कसम खाँदै नियुक्तिपत्र लिने स्थानीय तहका केही कर्मचारीले समयमा काम नगरिदिने, घूस लिने र अतिरिक्त रकम लिनेलगायतका व्यवहार देखाउने गरेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका २ का सचिव प्रेमलाल मल्लले सिफारिस बनाउने नाममा सर्वसाधारणबाट बढी रकम असुल गर्ने गरेको खुलेको छ । विभिन्न सिफारिस बनाइदिएबापत रसिद नकाटी सरकारी दस्तुरभन्दा बढी रकम लिने गरेको खुलेको हाे ।

यसै क्रममा स्थानीय शोभा खतिवडा नागरिकताको प्रतिलिपि सिफारिस लिन वडा समितिको कार्यालय पुगिन् । सिफारिस बनाइदिएपछि मल्लले दस्तुर लिए । तर उनले लिएको रकम सरकारी दस्तुरभन्दा बढी थियो । शोभाले रसिद दिन भनिन् । मल्ल केही वेर सुनेको नसुनै गरे । सचिव मल्लसँग शोभाले ठूलो स्वर गरेरै रसिद मागिन् ।

सचिव मल्लले दिन अस्वीकार गरे । रसिद नदिनुको अर्थ तोकिएको दस्तुरभन्दा सचिव मल्लले बढी रुपैयाँ लिएका थिए । शोभाले रसिद काट्नुहुन्छ कि मैले दिएको पैसा फिर्ता गर्नुहुन्छ भनेर बारम्बार दबाब दिएपछि सचिव मल्लले बाध्य भएर बढी लिएको गोजीबाटै झिकेर दिए ।

यस्तै नागरिकताको प्रतिलिपि सिफारिस लिन जाँदै स्थानीय देवराज दुलाललाई सचिव मल्लले शोभालाई जस्तै व्यवहार गरेका छन् । दुलालसँग पनि उनले बढी नै रकम लिएका थिए ।

देवराज र शोभामाथि सचिव मल्लले गरेको व्यवहार त प्रतिनिधि उदाहरण मात्रै हो । कार्यालयमा काम गर्न आउँदा उनले धेरै सेवाग्राहीलाई यसैगरी ठग्दै अवैध रूपमा रुपैयाँ कमाउने गरेका छन् । सचिव मल्लले कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिने गरेको पनि खुलेको छ । समयमा काम नगरिदिने, झुलाउने,घूस खानेलगायत व्यवहार मल्लले गर्ने गरेका केही स्थानीय बासिन्दा बताउँछन् ।

केही समयअघि खतिवडा थरका एक स्थानीय आफन्तको मृत्युदर्ता गराउन वडा समितिको कार्यालय पुगे । काजकिरिया सकेर १५ दिनपछि जाँदा ओरिजिनल प्रमाणपत्र दिनुपर्नेमा प्रतिलिपि दिएर पठाइदिए । मृत्युको शोकमा रहेका आफन्तले ओरिजिनल मृत्युदर्ताका लागि जिल्लालगायत विभिन्न ठाउँ पुगेर दुःख भोग्नुपर्यो ।

पहिलोचोटि मृत्युदर्ता प्रमाणपत्र लिन जाँदा प्रतिलिपि दिएको भन्दै खतिवडा गुनासो गर्छन् । वास्तवमा स्थानीय तहका कर्मचारी मल्ल त सेवाग्राहीलाई दुःख दिने र अप्रत्यक्ष रुपमा घूस लिने एक प्रतिनिधि उदाहरण मात्रै हुन् । देशका धेरै स्थानीय तहमा यस्ता कर्मचारी भएको आमगुनासो छ । स्थानीय तहका कर्मचारीले हँसिलो मुखले सर्वसाधारणको सेवा गर्नु पर्ने हो । तर, उल्टै कर्मचारीहरूले अँध्यारो मुख बनाएर ग्राहकमाथि अत्याचार गर्ने गरेका छन् । यसतर्फ संघीय सरकारले कारबाही गर्न शीघ्र कदम चाल्नुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया