शुक्रबार, वैशाख १४, २०८१

रेणुका दुई निर्णय : निःशुल्क खानेपानी र १ लाखबराबरको ‘छोरी बिमा कार्यक्रम’

नेपालखोज २०७९ जेठ ११ गते १२:१२

चितवन । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्त्वपूर्ण निर्णय गरेकी छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र एक लाख रुपैयाँबराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरेकी हुन् ।

पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरंग सेवा टिकट निःशुल्कको निर्णय गरेकी थिइन् । दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताइन् । महानगरभित्रका झन्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक दुई करोड ५० लाख रुपैयाँ हाराहारी खर्च हुने महानगरको अनुमान छ ।

महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका ३५ ग्राहक हजार छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ । महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् ।

महानगरले आज गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि एक लाख रुपैयाँको जीवन बिमा गरिने भएको छ । महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन् ।

राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो । एक जनालाई वार्षिक तीन हजार ३०० रुपैयाँ महानगरपालिकाले १५ वर्षका लागि बुझाउनेछ । पन्ध्र वर्षपछि ती छोरीले एक लाख रुपैयाँ पाउने गरी बिमा गर्न लागिएको हो । अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ ।

पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताइन्उ । उनले भनिन्, ‘भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछौं ।’ महानगरवासीलाई निराश हुन नदिने भन्दै उनले सबैको राय–सुझाव लिएर काम गर्ने बताइन् ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीका आवश्यकता आफूहरूले बुझेको उल्लेख गर्दै सोहीअनुरुपका योजना अघि बढाइने बताएका छन् । उनले भने, ‘अबको पाँच वर्षमा भरतपुरलाई देशकै सुन्दर सहर बनाइने छ ।’

प्रतिक्रिया