शनिबार, जेठ ५, २०८१

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए पदबाट राजीनामा !

नेपालखोज २०७९ जेठ ११ गते १३:१२

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । मिश्रले आफ्नो फेसबुक पेजमा विज्ञप्ति सार्वजनिक गर्दै पदबाट राजीनामा दिएको जनाएका हुन् । स्थानीय निर्वाचनमा अपेक्षा गरेअनुसार मत ल्याउन नसकेको भन्दै पदबाट राजीनामा दिएको मिश्रको भनाइ छ ।

पाँच वर्षसम्म तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा आएको मतपरिणामको सम्पूर्ण जिम्मेवारी आफूले लिने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको र आफू पार्टीको साधारण सदस्य भने रहिरहने जनाएका छन् ।

मिश्रले विज्ञप्तिमा लेखेका छन्, ‘हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ । बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ । मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’

गत पाँच वर्षमा प्रतिकूल अवस्थामा हुँदा पनि विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सवैप्रति उनले धन्यवाद पनि दिएका छन् ।
शुभेच्छुकको अपेक्षा पुरा गर्न नसक्दा आफू अत्यन्तै दुःखी भएको उनले जनाएका छन् ।

विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका उनले दाबी गेका छन् । विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म देशको रूपान्तरण असम्भव हुने मिश्रको दाबी छ ।

प्रतिक्रिया