बुधबार, जेठ २, २०८१

बालेनको आँट, सम्हाल्दै काठमाडौंको बागडोर

रुपेश चौलागाईँ २०७९ जेठ ११ गते १४:१३


काठमाडौं । यतिबेला देशैभरिको चुनावी नतिजालाई लिएर एउटा छुट्टै माहोल सिर्जना भएको छ । संघीय राजधानी काठमाडौंमा आजभोलि सवैको ध्यान केन्द्रित भएको छ । स्थानीय निकायको निर्वाचन अघिसम्म सबैभन्दा चर्चामा भरतपुर महानगरपालिका थियो । जव चुनाब सकिएर मतपरिणाम आउन थाल्यो, त्यसपछि ७५३ पालिकाको ध्यान नै काठमाडौंले खिचेको छ । काठमाडौं महानगरपालिको मतगणना लगभग–लगभग सकिनै लाग्दा स्वतन्त्र उम्मेद्वार बालेन शाहको जित सुनिश्चत भएको छ ।

यति बेला शाहको स्वदेश तथा विदेशमा खुवै चर्चा छ । युवा, ज्येष्ठ, महिला र पुरुषमाझ सर्वत्र सवैको मन मस्तिष्कमा बालेन परेका छन् । उनी स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको आकर्षणको पात्रै भएका छन् । यो चुनावमा देखिएको सबैभन्दा रोचक कुरा त के छ भने बालेनको लोकप्रियता । एकाएक चर्चामा आएका बालेन महानगरका अधिकांश मतदाताको रोजाईमा परेका छन् ।

अधिकांश मतदाताको रोजाइसँगै महानगर पिता हुने लगभग निश्चित भएको छ । महानगरबासीले बालेनको लौरोले ठूला दल भन्नेहरुको घमण्डलाई नमिठो प्रहार गरेका छन् । महानगरबासीले आफ्नो महत्वपुर्ण मताधिकारमार्फत काठमाडौंको नेतृत्व भनौं वा काठमाडौं बनाउने जिम्मा, बालेन शाहको काधँमा थमाइ दिएका छन् ।

उनकोे जितको सम्भावनासँगै महानगरबासीमा अहिले अनेकौं प्रश्न पनि उब्जिएका छन् । राजनीतिक दलका नेताबाट आजित भएको र जनताको विश्वासलाई तिनै नेताको राजनीतिले गाँजेको सहरमा बालेन शाहले जनताको विश्वास कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने महत्त्वपूर्ण विषय बनेको छ । अर्कातर्फ राजनीतिको प्रदूषणबाट दिक्दार भएर जनताले विकल्प खोजेको भन्ने सन्देश बालेनको जितले प्रस्टै दिएको छ ।

काठमाडौंमा बालेनले जितेपनि काम गर्न सक्दैनन् भनेर एकथरीले आलोचना गरिरहेका छन् । उता उनलाई मत दिएका महानगरबासीले भने विश्वास नै गरेर काठमाडौँको बागडोर सम्हाल्ने जिम्मा दिएका छन् । शाहको एकल आँट र साहासप्रति जनताले विश्वास गरेर दिएको मतलाई भोलिका दिनमा यतिकै कायम राख्न सक्छन् कि सक्दैनन् त्यो भने आगामी दिनमा हेदै जाउँला ।

रुपेश चौलागाईं

चौलागाईं नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया