शुक्रबार, भदौ २८, २०८१

‘इन ड्राइभरका साथमा स्वतन्त्रता आफ्नै हातमा’

नेपालखोज २०७९ जेठ ११ गते १४:२१

काठमाडौं । अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इन ड्राइभरले नेपालको सबैभन्दा ठूलो सहर काठमाडौंमा आफ्नो सेवा सुरु गरेको छ । इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै सर्तहरूमाथि स्वतन्त्र रुपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्दछ ।

इन ड्राइभरको रियल टाइम डिल्स (आरटीडी) मोडलमार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरूबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन् । यसको बदलामा चालकहरूले आफ्ना लागि कुन राइड रिक्वेस्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन् भने आफ्ना मूल्यसमेत सुझाउन सक्नेछन् । अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरूभन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्दछ ।

यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरूले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् । चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिक अप लोकेसन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको संख्याका आधारमा छनोट गर्न सक्नेछन् । ‘हामी इन ड्राइभर नेपालमा ल्याउन उत्साहित छौं । हाल हामीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका छौं र छिटै नेपालका मुख्य सहरमा उपलब्ध गराउनेछौं । कम्तीमा सेवा सञ्चालनको सुरुवाती ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन लिने छैन । यसको मतलब उनीहरूले प्रत्येक राइडको सम्पूर्ण शुल्क करबाहेक आफैंले प्रयोग गर्न पाउनेछन् । त्यसपछि लागु हुने कमिसन काठमाडौंमा चलेका अन्य राइडहेलिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रुपले कम हुनेछ । इनड्राइभरले हालसम्म नेपालमा चार हजारभन्दा बढी चालकलाई साइन अप गरिसकेको छ,’ इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन् ।

इन ड्राइभरद्वारा नेपालमा सेट–योर–अन–प्राइस राइड हेलिङ एप सार्वजनिक

राइड रिक्वेस्ट बूक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्टलगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रविष्ट गर्नुपर्नेछ । सिस्टममा रजिस्ट्रर भएका चालकहरूले तुरुन्त नोटिफिकेसन प्राप्त गर्ने र त्यसपछि अर्डर स्वीकार गर्ने, अस्वीकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन् ।

इनड्राइभरको आरटीडी मोडलले चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा दिँदै शक्ति सर्वसाधारणलाई नै उपलब्ध गराएको छ । उदाहरणका लागि, एपमार्फत यात्रुले काठमाडौंको गोगबु बसपार्कबाट ललितपुरको सातदोबाटोसम्म यात्रा गर्दा बढीमा २७० रुपैयाँ तथा ठमेलबाट बौद्धनाथसम्म पुग्न १३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ ।

इनड्राइभरका बारेमा
इनड्राइभर एउटा ग्लोबल आईटी तथा यातायात प्लेटफर्म हो । इनड्राइभर विश्वकै एउटा सबैभन्दा तीव्र रुपमा वृद्धि भइरहेको अनलाइन राइड हेलिङ सेवा हो । यसका सेवाहरू विश्वभरका ४२ देशका ६ सय सहरमा उपलब्ध छन् । कम्पनीको एप १२ करोडपटक डाउनलोड भइसकेको छ । इनड्राइभरले अन्तर सहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा विभिन्न सञ्चालन शहरमा डेलिभरीलगायत अन्य सेवा पनि प्रदान गर्दछ ।

इनड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा छ । यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरूमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ । यसले एक हजार सात सय जनालाई रोजगारी दिएको छ । २०२१ को सुरुवातमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बन्ड क्यापिटलको १५ करोड डलर लगानीसहित युनिकर्न स्टाटस प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन एक अर्ब २३ करोड डलर गरिएको थियो ।

प्रतिक्रिया