बिहीबार, वैशाख १३, २०८१

नेप्सेमा नीति तथा कार्यक्रमको सकारात्मक प्रभाव, सबै सूचक बढेर हरियो

नेपालखोज २०७९ जेठ ११ गते १५:४५

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलिपल्ट अर्थात आज बुधबार पुनः बढेको छ ।

नीति तथा कार्यक्रममार्फत सरकारले पुँजी बजार सुधार गर्ने, वित्तीय पहुँच विस्तार गर्ने, उत्पादनमूलक क्षेत्रमा कर्जा बिस्तार गरिनेलगायत नीति सार्वजनिक गरेको छ । सरकारले लिएको सोही नीतिको प्रभावले पनि हुन सक्छ आज बुधबार पनि नेप्से दोहोरो अंकले बढेको छ ।

नेप्से आज १४ दशमलव ३७ अंक्ले बढेर २२ सय ३१ दशमलव ५७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४२ अंकले बढेर चार सय ३५ दशमलव शून्य नौ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २६ कम्पनीको २२ हजार ३१ पटकको कारोबारमा २६ लाख ९४ हजार चार सय २९ कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब चार करोड ४६ लाख २६ लाख नौ सय ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो देखिएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव १९ अंकले बढेर १५ सय ३९ दशमलव ९३ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक २५ दशमलव १८ अंकले बढेर ३८ सय ५८ दशमलव २७ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक ३० दशमलव २९ अंकले बढेर २५ सय ८६ दशमलव ४९ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ३४ दशमलव ४१ अंकले बढेर नौ हजार पाँच सय ४३ दशमलव ४९ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि ६६ दशमलव ५१ अंकले बढेर १० हजार सात सय ६८ दशमलव ५० अंकमा चढेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज बलेफी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ९२ प्रतिशतले बढेर एक सय १० रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य सात दशमलव १३ प्रतिशतले घटेर तीन सय ९२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अपर तामाकोसी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय २९ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा आठ करोड ३४ लाख आठ हजार सात सय ४७ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया