बिहीबार, वैशाख १३, २०८१

तुलसीपुर उपमहानगरको मेयर र उपमेयरमा एमालेको जित

नेपालखोज २०७९ जेठ ११ गते १६:१६

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले जित हासिल गरेको छ । मेयर टीकाराम खड्का ३१ हजार ४ सय ८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरे । एमालेका खड्काले ३ हजार ६ सय ९१ मतान्तरले कांग्रेसका उम्मेद्वार गिरीलाई पराजित गरेका हुन् ।

मेयरमा निर्वाचित खड्का किसान नेताका रूपमा परिचित एमालेका पूर्व जिल्ला अध्यक्ष पनि हुन् । पराजित कांग्रेस केन्द्रीय सदस्य गिरी २०७४ को निर्वाचनमा पनि मेयर पराजित भएका थिए । यसैवीच उपप्रमुखमा एमालेकी स्यानी चौधरी ३० हजार ५ सय ९७ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गरे । चौधर ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भएकी हुन् ।

एमालेले तुलसीपुरमा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडामा जित हासिल गरेको छ । कांग्रेसले ५, ७, ९, १४, १७ र माओवादीले १, ४ र १२ नम्बर वडामा विजयी हासिल गरेको छ । १६ नम्बर वडा भने स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।

प्रतिक्रिया