बिहीबार, वैशाख ६, २०८१

केपी ओलीले भने- अमेरिकी सहायक विदेशमन्त्री आउँदा सरकार डरायो

नेपालखोज २०७९ जेठ १२ गते १३:१६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक मामलामा सरकारले सिंगो राष्ट्रको प्रतिनिधित्व गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार संसद बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारसँग राष्ट्रिय खण्डता र स्वाधीनताको संरक्षण गर्ने आँट नरहेको जिकिर गरे ।

अध्यक्ष ओली अमेरिकी सहायक विदेशमन्त्री तिब्बती शरणार्थी शिविरमा पुगेको घटनाको चर्को आलोचना गरेका छन् । ओलीले सरकार पक्षलाई प्रन गर्दै भने, ‘एउटा सहायक विदेशमन्त्री आउँदा नै यो सरकार थुरथुर हुन्छ, तीन दिन कामज्वरो छुट्छ’, उनले भने, ‘कहाँसम्मको लाचारी हो ? यस्तो सरकारले कसरी देशको स्वाधीनता रक्षा गर्छ ?’

सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्ने प्रश्न सरकारलाई गर्दै ओलीलेसरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरेका छन् । छिमेकी राष्ट्रहरूको संवेदनशीलता र सन्तुलित सम्बन्धमा सरकारले ध्यान दिन नसकेको पनि ओलीको आरोप थियो ।

ओलीले सम्बोधनका क्रममा सरकारलाई पु्नः प्रश्न गरे, ‘एउटा सहायक मन्त्री आउँदा सरकारको स्कर्टिङ लिएर गुम्बागुम्बामा कसरी पुग्छन् ? कसले अनुमति दियो ? किन अनुमति दियो ? छिमेक सम्बन्धप्रति हाम्रो इमान्दारिता हुन्छ कि हुँदैन ? हाम्रो संविधानले भनेको तटस्थता यही हो ?’

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको बिहीबार छलफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १० गते नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सम्माननीय राष्ट्रपतिले २०७९ जेठ १० गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०७९र८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् ’ भनी प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया