शनिबार, वैशाख १५, २०८१

काठमाडौं महानगरमा नयाँ नेतृत्व : बालेन्द्र मेयर, सुनीता उपमेयर

नेपालखोज २०७९ जेठ १२ गते २३:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ नेतृत्व पाएको छ । नयाँ मेयरका रुपमा काठमाडौं महानगरपालिकाले स्वतन्त्र उम्मेद्‌वाद बालेन्द्र (बालेन) शाह निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी सुनीता डंगोल विजयी भएकी छन् ।

निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयरमा निर्वाचित भएका हुन् । लौरो चिह्‌नबाट स्वतन्त्र उम्मेद्‌वादरी दिएका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन् । बालेनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् भने तेस्रो बनेका नेकपा एमालेका केशव स्थापितले भने ३८ हजार ११७ मत पाएका छन् ।

बालेनले सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत र स्थापितभन्दा २३ हजार ६५० मत धेरै ल्याएका छन् । सिर्जनाले भने केशवभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन् ।

अर्का स्वतन्त्र उम्मेद्‌वार सुमन सायमिले १३ हजार ७७० मत पाएका छन् भने राप्रपा उम्मेद्‌वार मदनदास श्रेष्ठले ५ हजार ७७० मत पाएका छन् । सायमिको चुनाव चिह्‌न आँखीझ्याल थियो भने श्रेष्ठको चुनाव चिह्न हलो थियो । यसैगरी विवेकशील साझाबाट मेयरको उम्मेद्‌वारी दिएकी समीक्षा बास्कोटाले ६४७ मत मात्र पाएकी छन् ।

उपमेयरमा विजयी भएकी एमालेकी सुनीताले ६८ हजार ६१२ मत पाएकी छन् । गठबन्धनका तर्फबाट उपमेयरमा उम्मेद्‌वारी दिएका एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत मात्र पाए । उपमेयरमै उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठ (महर्जन) ले भने १३ हजार ६९५ मत पाइन् भने राप्रपाकी विनीता मगैयाले १२ हजार १४१ मत पाएकी छन् । उपमेयरमा अर्की स्वतन्त्र उम्मेद्‌वार वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत मात्र पाइन् ।

प्रतिक्रिया