शनिबार, वैशाख १५, २०८१

‘सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्नूस्’

नेपालखोज २०७९ जेठ १३ गते २२:१७

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयअन्तर्गत निकाय तथा विभागमा कार्यरत सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्न निर्देशन दिएका छन् । सफाइ अभियन्ता खेम शर्माले मन्त्रालयको निर्देशनमा मन्त्रालय मातहतका सात स्थानमा गरेको सरसफाइ अवस्थाको अध्ययन प्रतिवेदन आज बुझ्नु हुँदै मन्त्री आलेले उक्त निर्देशन दिएका हुन् ।

अभियन्ता शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सांस्कृतिक, पर्यटकीय तथा व्यावसायिक महत्वका स्थानको एक हप्ता लगाएर सरसफाइ अवस्थाको अनुगमन गरेका थिए । मन्त्री आलेले आफ्नो मन्त्रालयअन्तर्गत विभाग तथा निकायमा कार्यरत सरसफाइ कर्मचारीलाई तत्काल तालिमको व्यवस्था गर्न सम्बन्धित निकायका प्रमुखलाई आज निर्देशन दिएका हुन् ।

मन्त्री आलेले सम्बन्धित निकायले तत्काल सफाइ मजदुरलाई आफ्नो पेशाप्रति गौरव हुने र सीपयुक्त बन्ने गरी तालिमको व्यवस्था गर्न निर्देशन दिए । उनले भने, ‘सरसफाइ स्वास्थ्यका लागि नभइ नहुने सीप हो, मन्त्रालय मातहतका विभाग तथा कार्यालय टिलिक्क टल्किनुपर्छ र सफा सुग्घर राख्नुपर्छ ।’

अनुगमन प्रतिवेदनको निष्कर्षमा प्रतिवेदक शर्माले सफाइ मजदुरमा तालिमको व्यवस्था हुनुपर्ने, सरसफाइका उपयुक्त सरसामान तथा रसायनको प्रयोग हुनुपर्ने तथा प्रभावकारी अनुगमन हुनुपर्ने जानकारी दिए । पहिलो चरणमा पर्यटकको बाक्लो आगमन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ मजदुरलाई तालिम दिन र त्यहाँको कामको प्रभावकारी अनुगमन गर्न पनि मन्त्री आलेले निर्देशन दिए ।

मन्त्री आलेलाई प्रतिवेदन हस्तान्तरण गर्दै सरसफाइ अभियन्ता शर्माले नेपालका सरसफाइ मजदुरलाई पेशागत प्रशिक्षण दिने मन्त्री आलेको निर्देशनबाट आफू निकै खुशी भएको बताए । सरसफाइ पेशालाई सम्मानित र गौरवयुक्त बनाउन तथा मन्त्रालयअन्तर्गत कार्यालयको सरसफाइको अवस्थामा आमूल परिवर्तन गर्न मन्त्रीले निर्देशन एतिहासिक हुने मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए ।

उनले भने, ‘मन्त्रीलगायत सिङ्गो मन्त्रालय परिवार र निकायका प्रमुख सरसफाइप्रति गम्भीर हुनुभएको छ, मन्त्रालय मातहतका सबै निकाय, कार्यालय तथा विभाग सफा र सुग्घर हुने छन् ।’

प्रतिक्रिया