शुक्रबार, वैशाख १४, २०८१

विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब परेमा कार्यदिशालाई थप कसिलो बनाइने

नेपालखोज २०७९ जेठ १३ गते १९:५५

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट घोषणाको तयारी गरिरहँदा नेपाल राष्ट्र बैंकले भने शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । समिक्षा राष्ट्र बैंकले पुरानै व्यवस्थाहरुलाई कार्यान्यनमा ल्याएको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले भनेको छ, मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाव यथावत रहेकोले मौद्रिक नीतिको अर्द्भवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ ।

यसैगरी कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि राष्ट्र बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ ।

आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाव कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई भने राष्ट्र बैंकले यथावत राखेको छ । मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिईने मौद्रिक नीतिको समिक्षामा उल्लेख छ ।

विभिन्न ४७ प्रमुख शीर्षक अन्तर्गतका हार्माेनिक कोड भएका वस्तुहरुको आयातको लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ । तातोपानी भन्सार बिन्दुमार्फत हुने आयात कारोबारको सम्बन्धमा अधिकतम अमेरिकी डलर तीन हजारसम्मको सामान आयातको लागि नगद विदेशी मुद्रा उपलब्ध गराउन सकिने विद्यमान व्यवस्थालाई हटाइएको छ ।

वाणिज्य बैंकले तोकिएका शर्तहरू पालना हुने गरी परिवत्र्य विदेशी मुद्रामा बचत निक्षेप संकलन तथा परिचालन गर्न संचालित खातामा कायम हुनुपर्ने विद्यमान न्यूनतम मौज्दात परिवर्तन गरी अमेरिकी डलर एक हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा गैर–आवासीय नेपालीको नाममा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्दा र संचालन गर्दा सम्बन्धित निकायबाट गैर–आवासीय नेपाली प्रमाणित हुने तोकिएकामध्ये कुनै एक कागजात संलग्न गरेमा हुने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । नेपाली फर्म, कम्पनी, उद्योग, बैंक तथा वित्तीय संस्था लगायतले परिवत्र्य विदेशी मुद्रामा ऋण लिँदा तिर्नुपर्ने ब्याजदरलाई लाइबोरसँग आवद्ध गरिएको विद्यमान व्यवस्थालाई परिमार्जन गरी विभिन्न बेन्चमार्क ब्याजदरहरुसँग आवद्ध गरिनुको साथै मार्जिन दरमा पुनरावलोकन गरिएको छ ।

सरकारद्वारा २०७९ वैशाख १३ को राजपत्रमा प्रकाशित सूचनाबमोजिम तोकिएका वस्तुहरु २०७९ असार मसान्तसम्म पैठारीमा पूर्ण बन्देज गर्ने ब्यवस्था कार्यान्वयनको लागि निर्देशन जारी गरिएको छ । आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्रामबाट घटाई १० किलोग्राम हुने व्यवस्था कार्यान्वयनमा जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट हुने कर्जा प्रवाहको प्रक्रियालाई सरलीकरण गर्ने, कर्जा प्रवाह लागत कम गर्ने तथा कर्जामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याइएको छ । विप्रेषण कम्पनीहरुले आफ्ना एजेन्ट र सब–एजेन्टमार्फत स्वदेशभित्र गर्नसक्ने रकम स्थानान्तरणको सीमा पुनरावलोकन गरी प्रति व्यक्ति प्रतिदिन अधिकतम कारोबार रकम २५ हजार रुपैंयाँ कायम गरिएको छ ।

क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्र प्रयोग गर्र्नुपर्ने र उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न वा नगद झिक्न नमिल्ने व्यवस्था गर्न भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई निर्देशन जारी गरिएकोे छ । साथै, विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्कोमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय
भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनु पर्ने व्यवस्था गरिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

प्रतिक्रिया