आइतबार, भदौ ३०, २०८१

‘राजनीतिक दलहरूले नागरिक अपेक्षाअनुरूप योगदान दिऊन्’

नेपालखोज २०७९ जेठ १५ गते १३:२४

काठमाडौं । १५औँ गणतन्त्र दिवसका अवसरमा आज (आइतबार) मानवअधिकार तथा शान्ति समाजको आयोजनामा विभिन्न जिल्लामा कार्यक्रमहरू भएका छन् । काठमाडौं शाखाले आज गरेको ‘लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनीतिक दलहरू’ विषयक गोष्ठीमा समाजका सभापति गोविन्द खनालले राजनीतिक दलहरूले नागरिक अपेक्षाअनुरूप भूमिका निर्वाह गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताए ।

समाजका काठमाडौं शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा जोरपाटीमा भएको गोष्ठीमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, समाजका सल्लाहकारद्वय होमकान्त चौलागाईं र उत्तम पुडासैनी, पूर्वसभापति डा. गंगाधर अधिकारी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा, पूर्वउपमेयर शान्ति नेपाल, गोकर्णेश्वर ५ का वडाध्यक्ष नारायण सुवेदी, ६ का अध्यक्ष नवराज लामा, समाजसेवी श्रीराम चालिसे, सार्जन चापागाईंले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी शान्ति समाज पाल्पा शाखाद्वारा जेठ १५ गते आयोजित लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनीतिक दलहरू विषयक विचार गोष्ठीमा जिल्ला न्यायाधीश खड्गबहादुर केसी, समाजका उपसभापति कृष्णबहादुर रावल, पत्रकार महासंघ जिल्ला अध्यक्ष रेखिराम राना, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष घनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका प्रतिनिधि मथुरा ढकाललगायत राजनीतिक समाज र नागरिक समाजका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए । पाल्पा शाखा सभापति अरुण ज्ञवालीको सभापतित्वमा भएको विचार गोष्ठीमा उपसभापति रेणुका देवकोटाले मन्तव्य व्यक्त गरेका थिए ।

गणतन्त्र दिवसका अवसरमा आइतबार शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित विचार गोष्ठीमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, उपमेयर स्यानी चौधरी, दङगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा बुढाथोकी, शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली, पूर्वउपसभापति मोहन धिताल, दाङ शाखा सभापति तुलसीराम सुनार, नवनिर्वाचित जनप्रतिनिधिहरू दुजमान भण्डारी, रामबहादुर जीसी, शिवानन्द डाँगी, नागरिक समाजका अगुवा टीकाराम रेग्मी, ज्येष्ठ नागरिक समाजका खुमानन्द अधिकारी, महिला मानवअधिकार रक्षक सन्जालकी पदमा चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साथै १५औँ गणतन्त्र दिवसका अवसरमा शान्ति समाज ललितपुर शाखाद्वारा आयोजित कार्यक्रममा स्रष्टा व्याकुल माइला, डा. लालबहादुर पुन, शान्ति समाजका केन्द्रीय सदस्य चन्द्रमणि बन्जारा, पूर्वसचिव बलबहादुर गाहा मगर, शाखा सभापति संजोग चाम्लिङ राईले मन्तव्य व्यक्त गरेका थिए ।

१५औँ गणतन्त्र दिवसकै अवसरमा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा जितपुरमा आयोजित सुशासन र गणतन्त्र विषयक कोणसभामा समाजका केन्द्रीय सदस्य दिलबहादुर कार्की, कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी १५औँ गणतन्त्र दिवसका अवसरमा शान्ति समाजका शाखाहरूले आइतबार साँझ विभिन्न जिल्लामा दीपावली गर्दै छन् ।

प्रतिक्रिया