बुधबार, वैशाख १२, २०८१

सेक्युरिटी गार्डबाट त्यही बैंकको म्यानेजर बने परमजित

नेपालखोज २०७९ जेठ १६ गते ११:५३

काठमाडौं । एक शिक्षित व्यक्तिले जीवनमा केही न केही गर्ने महत्त्वाकांक्षा बोकेको हुन्छ । केही व्यक्तिले त्यो महत्त्वाकांक्षा सानै काम गरेर पूरा गरेका छन् । यदि कोही व्यक्ति धनी तथा सम्पन्न परिवारको छ भने उसले सानोतिनो काममा ध्यानै दिँदैन । तर केहीले कामलाई मूलमन्त्र मान्दै जस्तोसुकै काम गर्न पनि पछि पर्दैनन् ।

अधिकांश मानिसले एक्कासि ठूलो हुने, ठूलो कारोबार गर्ने, धेरै पैसा कमाउने मात्रै सोचेको हुन्छ । तर विश्वमा केही यस्ता व्यक्ति पनि छन्, जो अनुभव तथा सेवाका लागि सानै काम गर्न पनि पछि परेनन् । भारतको पन्जाबको अखडामा यस्ता एक उदाहरणीय व्यक्ति छन्, जो एउटै कार्यालयमा सेक्युरिटी गार्ड पनि भए र त्यही कार्यालयमा बैंकको म्यानेजर पनि ।

परमजित सिंह मठारू नामका व्यक्तिले सुरक्षा गार्डबाट बैंकमा काम सुरु गरेका थिए । कडा परिश्रम, मिहिनेत, महात्त्वाकांक्षा सँगैको प्रयासलगायत कारण १३ वर्षपछि मठारू त्यही बैंकको म्यानेजर बन्न सफल भएका छन् । सुरक्षागार्डबाट म्यानेजर भएका मठारु अहिले उनको ठाउँमा मात्रै होइन, भारतभरि नै चर्चाको पात्र भएका छन् ।

विभिन्न सञ्चारमाध्यममा उनको मिहिनेत तथा प्रतिबद्धताको प्रशंसा गर्दै समाचार प्रकाशन तथा प्रसारण भएका छन् ।
पहिले गाउँमा सामान्य गार्डका रूपमा चिनिने पठारू अहिले ‘बडे हाकिम’ का रूपमा चिनिन्छन् । सोही बैंकमा सेक्युरिटीको काम गर्दा उनको तलब ६ हजार ८ सय (भारू) थियो । पठारू आजभोलि सोही बैंकमा म्यानेजरका रूपमा नियुक्त भएर कार्यभार सम्हालेपछि ८० हजार रुपैयाँ (भारु) तलब बुझ्छन् ।

पठारूलाई आजभोलि समाजले हेर्ने दृष्टिकोणमा पनि धेरै नै परिवर्तन भएको छ । वास्तवमा मानिसले लक्ष्य लिने हो भने ती सुरक्षा गार्डले गरेको जस्तै प्रगति जो कोहीले गर्न सक्छन् भन्ने यो गतिलो उदाहरण हो । कर्ममा विश्वास गर्ने पठारूले जीवनमा हरेस खाएनन् । उनले बैंकमा म्यानेजर पदको जागिर खानेगरी दुःखसुख गरेर अध्ययन पनि गरे । अध्ययनसँगै बढुवाको पनि ध्यान दिँदै गए । उनले सुरक्षागार्डका रूपमा काम गरेर अहिले म्यानजेर सम्हाल्दै गरेको बैंकको नाम भने युनियन बैंक अफ इन्डिया हो ।

मठारूको जीवन कहानी खाली सुरक्षागार्डसँग मात्रै जोडिएको छैन । उनले सन् १९८२ मा म्याट्रिक पास गरे । सेनामा जागिर खुलेको थियो, फाराम भरे । फुर्तिलो, खेलकुद र दौडमा रुचि राख्ने उनले सेनामा पास गरे । २१ वर्षे कार्यकालमा हवल्दारसम्म भएर सन् २००३ मा स्वेच्छाले अवकाश पनि लिए ।

सेनाको अवकाश भएपछि उनले केही न केही गर्नुपर्छ भन्ने सोच बनाए । अन्ततः ट्याक्सी चलाउने निधो गरे । सेनाको पेन्सनको रकम पनि आउँथ्यो । पेन्सनबाट पाएको पैसाले परिवार राम्ररी चल्न सक्थ्यो । तर छोराछोरीको उज्ज्वल भविष्य र उच्च शिक्षाका लागि उनले पाँच वर्ष ट्याक्सी चालकको काम गरे । यसबाट हुने आम्दानीले परिवारको अवस्थामा कुनै फरक परेको छैन । पाँच वर्षसम्म ट्याक्सी चलाउँदा सामान्य घरखर्च मात्रै चल्यो । ट्याक्सीबाट खासै आम्दानी नहुने महसुस गरे ।

केही न केही अलिक कमाइ हुने काम गर्नुपर्छ भन्ने उनमा सोच आयो । कामको खोजी गर्दै गए । सेनाको अवकाशप्राप्त व्यक्ति भएकाले एउटा बैंकको सम्पर्कमा पुगे । सन् २००८मा युनियन बैंक अफ इन्डियाको शाखामा सेक्युरिटी गार्डमा जागिरका लागि आवेदन खुला गरिएको थियो । उनले निवेदन दिए । अन्तर्वार्तामा उत्तीर्ण भएपछि कामको सुरुवात गरे । उनले राम्रो काम गर्दै गए ।

पठारूले बैंकमा सेक्युरिटी गार्डको काम भनेको सुरक्षा प्रदान गर्ने हो । तर सुरक्षाका साथै उनले कर्मचारीहरूलाई काममा सहायता पनि गर्थे । बैंकका सबै कर्मचारी नजिकका साथी भए । पढेलेखेका उनको कर्मचारीलाई सहायता गर्दागर्दै कामको अनुभव बढ्दै गयो । उनले म पनि एकदिन बैंकको गार्ड होइन, कर्मचारी नै भएर काम गर्छु भन्ने अठोट लिए ।

सेक्युरिटी गार्डको जागिरका क्रममा उनले बैंकको कर्मचारी बन्ने तयारी गर्न थाले । क्लर्कमा जागिर खुल्यो । आवेदन दिए । उत्तीर्ण भएपछि उनी क्लर्कमा बढुवा भए । त्यसपछि उनी चारपटक शाखा प्रबन्धकको पीओ परीक्षामा सहभागी भए ।

बैंकमा जागिरको माग नभईकन उनले बढुवा हुनका लागि अझै धेरै बैंकका पाठ्यसामग्री पढ्न थाले । बैंक परीक्षाको तयारी केही वर्ष गरे । सन् २०१३ मा जागिरका लागि आवेदन खुल्यो । परीक्षा दिए, तर सो वर्ष भने नाम निकाल्न सकेनन् । उनले हरेस खाएनन् । परीक्षाको तयारी गर्दै गए ।

सन् २०१३, १४ र १५ मा परीक्षा दिए, सफलता प्राप्त गर्न सकेनन् । कर्मचारी भइछाड्ने उनले अठोट लिएका थिए । परीक्षाको तयारीलाई निरन्तरता दिइरहे । चारचोटिसम्म असफल भएका उनले सन् २०२१ मा पुनः पूर्ण तयारी गर्दै परीक्षा दिए । कर्मवीर उनले सन् २०२१ मार्च ३१ तारिखदेखि सोही बैंकमा म्यानेजर भएर काम गर्ने अवसर पाए ।

परमजित भन्छन्, ‘मान्छेले जे चाहन्छ त्यो पाउन सक्छ । जीवनमा अब कुनै रिस छैन । मिहिनत, आत्मविश्वास र लगनशीलताले जीवनमा सबै कुरा हासिल गर्न सकिन्छ ।’ मथारुको जीवनीबाट सबैले प्रेरणा लिनुपर्छ । कडा परिश्रम र कामप्रतिको समर्पणसँगै एक व्यक्तिले आफ्नो जीवनमा महत्त्वपूर्ण स्थान हासिल गर्न सक्छ भन्ने पठारू सबैका प्रेरणाका स्रोत हुन् ।

भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया